१० वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

किन हुन्छ तातो दिन वा तातो हावाको लहर ?

गर्मी मौसममा तातो दिन वा तातो हावाको लहरले तराईको जनजीवन प्रभावित हुने गरेको छ। 

जल तथा मौसम विज्ञान विभागले अझै केही दिन तराई क्षेत्रमा तातो दिन वा तातो तहर चल्ने चेतावनी दिँदै स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरेको छ। 

विभागका वरिष्ठ मौसमविद मिनकुमार अर्यालले गर्मीयाममा चर्को घाम लागेपछि तापक्रम अत्यधिक बढेर धेरै गर्मी भएको अवस्थालाई ‘तातो दिन’ भन्ने गरेको जानकारी दिए। उनका अनुसार तराईका जिल्लाहरूमा लगातार दुई दिनभन्दा बढी समय ४० डिग्री वा त्यो भन्दा बढी तापक्रम भयो भने तातो दिन भएको वा तातो हावाको लहर चलेको घोषणा गरिन्छ।

अहिले गर्मीको समय छ। पानी परेमात्र तापक्रम केही घट्न सक्ने तर नपरे तापक्रम अझै बढ्दै जाने उनकाे भनाइ छ। चर्को घाम लाग्ने र तापक्रम बढेर ४० डिग्री पुगेपछि हावा पनि तातो नै चल्न थाल्ने भएकाले गर्मी धेरै नै हुने मौसमविद् अर्यालको भनाइ छ।

तराई क्षेत्रको तापक्रम कति ?

अझै तीन दिन सबै प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने देखिएको विभागले जनाएको छ।  

विभागका अनुसार मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ। तत्काल पानी पर्ने सम्भावना नदेखिएको भन्दै विभागले अझै गर्मी बढ्न सक्ने चेतावनी दिएको छ।  

मंगलबार भैरहवाको अधिकतम तापक्रम ४२ डिग्री पुगेको थियो। यस्तै सिमराको ४० दशमलव ३, नेपालगन्ञको ३९ दशमलव ३, धनगढीको ३८ दशमलव ८, दिपायलको ३७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो। 

स्वास्थ्य समस्या र बच्ने उपाय 

तातो हावाको लहरले मानिसमात्र नभइ जीवजन्तुको स्वास्थ्यमा पनि निक्कै असर गर्ने चिकित्सकहरु बताउँछन्। टाउको दुख्ने, मुटुको गति तीव्र हुने, श्वासप्रश्वास र रक्तचाप कम हुने, शरीरको तापक्रम बढ्ने, छाला सुक्खा र रातो हुने, रिङ्गटा लाग्ने र अचेत हुने जस्ता असर देखिन सक्ने डा. प्रकाश दंगाल बताउँछन्। यसबाट कहिलेकाहीँ ज्यानै पनि जान सक्ने भएकाले तातो हावाको लहरबाट जोगिनको लागि सावधानी अपनाउन अनुरोध गरे।  

दिउँसो चर्को घाम लागेको बेला घर बाहिर ननिक्लन, निक्लनै परे छाता ओढ्न वा पातलो कपडाले टाउको छोप्न उनको सुझाव छ। यस्तै खेतबारीमा सकभर बिहान र बेलुकी मात्रै काम गर्न, प्रशस्त पानी र फलफूलको रस खान, धेरै पसिना आएमा जीवनजल पनि पिउन र चिसो पानीले नुहाउन सकिने उनको भनाइ छ।  

तर चिनीको मात्रा धेरै भएको झोल पदार्थ (कोल्ड ड्रिङ्क्स) चिया, कफी, सोडा जस्ता चिज नखान, गर्मीले छट्पटी भएमा निधार, अनुहार, घाँटी र हातगोडामा पानीपट्टी लगाउन र स्वास्थ्यमा समस्या आएमा नजिकैको स्वास्थ्य संस्थामा जान चिकित्सकको अनुरोध छ। 

प्रकाशित: ९ वैशाख २०८३ १२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App