इरानले फिफा पुरुष विश्वकप खेल्न आफू पूर्ण रूपमा तयार रहेको जनाएको छ।
इरानले सन् २०२६ मा संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपमा आफ्नो राष्ट्रिय फुटबल टोलीको सहभागिताका लागि देशका सबै संस्थाहरू पूर्ण रूपमा तयार रहेको बताएको हो।
जारी विज्ञप्तिमा सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले युवा तथा खेलकुद मन्त्रालयले प्रतियोगितामा टोलीको प्रभावकारी सहभागिताका लागि आवश्यक सबै व्यवस्था सुनिश्चित गरिएको बताइन्। उनले खेलकुद मन्त्रीको निर्देशनमा तयारी गरिएको र सफल प्रदर्शनका लागि आवश्यक सुविधा उपलब्ध गराउनेतर्फ ध्यान केन्द्रित गरिएको उल्लेख गरिन्।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अप्रिल १६ मा इरानले जुन ११ देखि जुलाई १९ सम्म हुने आगामी विश्वकपमा भाग लिने अपेक्षा गरिएको बताएका थिए।
उनले इरानी टोली छनोट भइसकेको र इरानमाथि भएको अमेरिका-इजरायल युद्धको अवस्थाका बावजुद पनि प्रतिस्पर्धा गर्न इच्छुक रहेको उल्लेख गरे। 'इरान आउनै पर्छ, तिनीहरूले आफ्ना जनताको प्रतिनिधित्व गर्छन्। टोली छनोट भइसकेको छ, खेलाडीहरू खेल्न चाहन्छन्,' उनले जुनमा संयुक्त राज्य अमेरिकामा तय भएको इरानी टोलीको खेलबारे बताएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्चमा इरानको टोलीलाई प्रतियोगितामा स्वागत गरिने बताएका थिए। तर उनले उनीहरूको सुरक्षा र जीवनप्रति चिन्ता व्यक्त गर्दै उपस्थितिको उपयुक्तताबारे प्रश्न पनि उठाएका थिए।
फिफा विश्वकप जुन ११ देखि सुरु हुँदैछ।
प्रकाशित: १० वैशाख २०८३ १७:५३ बिहीबार





