उत्तरी सीमा नाका पारिबाट भोटेकोसी र त्रिशूली नदीमा आएको शक्तिशाली र विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाहरूमा फसेका कर्मचारी र मजदुरको उद्धारमा शनिबारदेखि नेपाली सेनासहितको विज्ञ टोली परिचालन भएको छ।
बाढीबाट रसुवा र नुवाकोटमा रहेका १२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। बाढीले आयोजना र सुरुङ प्रवेशमार्ग पुरिएपछि त्रिशूली–३ ए, त्रिशुली– ३ बी, माथिल्लो त्रिशूली–१ र चिलिमेमा कार्यरत कर्मचारी र मजदुर भित्र फसेका छन्। उनीहरूका आफन्तले सरकारले उद्धारमा विलम्ब गरेको भन्दै आलोचना गरिरहेका बेला विज्ञसहितको टोली परिचालन गरिएको हो।सुरुङमा फसकेकाहरूको जीवनको आशमा परिवार छन्। सरकारले सुरुङभित्र कति मान्छे छन् अझै भन्न सकेको छैन तर विभिन्न आयोजनाका सुरुङमा नौ सयजना भन्दा बढी रहेको आकलन छ। तीन दिनसम्म अन्यत्र उद्धारमा खटिएको सरकार शनिबार रातिदेखि त्रिशूली–३ ए को सुरुङभित्र थुनिएकाको उद्धार प्रयासमा जुटेको छ।
सुरुङको मुख पत्तालगाएर भित्र पस्ने प्रयास भैरहेको छ। उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार ३५ देखि ४० जना भित्र हुनसक्ने आशंका छ। उद्धारमा विज्ञसहित नेपाली सेनाका ९२ जना खटिएका छन्।
सुरुङको मुख भेटिए पनि ठुलो एस्काभेटर नहुँदा भित्र जान कठिन भैरहेको उद्धारमा खटिएका एक विज्ञले जानकारी दिए। ‘बाढीले नबगाएका तीन एस्काभेटरबाट काम सुरु गरिएको हो। तीमध्ये एउटा बिग्रिएपछि दुई वटा प्रयोगमा ल्याइएको छ,’ सुरक्षा स्रोतले भन्यो, ‘प्रयोग भएका पनि दुई टन क्षमताका मात्रै छन्। ’
सुरुङभित्र प्रयोग गर्न कम्तीमा पनि २२ टनसम्मको उपकरण चाहिने सुरक्षाकर्मी बताउँछन्। भित्र जान कठिन भएपछि विष्फोट गर्ने तयारी पनि भैरहेको जानकारी दिँदै ती सुरक्षा अधिकारीले भने, ‘अहिलेसम्म (आइतबार साँझ) सुरुङभित्रबाट कुनै संकेत आएको छैन।’
त्रिशूली–३ बी आयोजनाको सुरुङभित्र पनि कामदार र इन्जिनियर फसेको आशंकामा उद्धारका लागि नेपाली सेनाको भैरवनाथ गणको टोली तयारी अवस्थामा छ। त्यहाँ पनि सुरुङको मुख लेदोले पुरिएको छ। लेदो हटाउने उपकरण नभएकाले उद्धार अघि बढ्न सकेको छैन।
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि भने चिनियाँ विज्ञ टोलीले सहयोग गरिरहेका छन्। चिनियाँ र कोरियाली कम्पनीको संयुक्त ठेक्का रहेको उक्त आयोजनाका कामदारको उद्धार प्रयासमा नौ चिनियाँ र नेपाली सेनाको संयुक्त टोली जुटेको छ। चिनियाँ टोली शनिबार मात्र आइपुगेको हो।
यसैगरी चिलिमे जलविद्युत् आयोजनाभित्र पनि केही मानिस फसेको आशंका छ तर यकिन छैन। त्यहाँ भारतीय सेना र नेपाली सेनाको संयुक्त टोली खटिएको छ। जलविद्युत आयोजनाहरूमा कार्यरत ९ सय ३३ जना सम्पर्कबाहिर रहेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
तीमध्ये कति सुरुङभित्र छन् भन्ने यकिन हुन सकेको छैन। विभिन्न जलविद्युत् आयोजनामा कार्यरत मजदुर तथा इन्जिनियर सम्पर्कबाहिर छन्। विद्युत् आयोजनामा काम गर्ने नेपालीमात्र नभएर बाढी प्रभावित क्षेत्रमा गएका चिनियाँ, भारतीय र कोरियाली पनि सम्पर्कविहीन छन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले अधिकांश जलविद्युत् आयोजनाको पावर हाउस बाढीले बगाएको र भित्र कामदार फसेका भनिएका आयोजनाको प्रवेशमार्ग लेदोले पुरिएका कारण उद्धारमा कठिनाइ भएको बताए।
‘चिनियाँ र भारतीय उद्धार टोलीको सहयोगमा नेपाली सेना परिचालन गरिएको छ,’ उनले भने, ‘तर खोला किनारबाट तीन सय मिटरसम्म लेदोले पुरिएकाले दलदलमा उपकरण लैजान हेलिकोप्टरसमेत अवतरण गराउन सकिने अवस्था छैन। चाहेर पनि हामीले उद्धार गर्न सकिरहेका छैनौं।’
बाढी प्रभावित क्षेत्रको भौगोलिक कठिनाइ र नेपालमा सुरुङभित्र गरिने उद्धारका लागि विज्ञहरूको पनि अभाव रहेकाले उद्धारमा समस्या भएको आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्यविज्ञ रतिन्द्र खत्री बताउँछन्। ‘जलविद्यत् आयोजनाहरूको डिजाइनमा सुरुङ मार्ग कहाँ छन् भन्ने उद्धारमा खटिनेले नै थाहा पाउन सकेनन्,’ उनले भने, ‘एकातिर लेदोले भित्र जान नसकिने अवस्था छ। त्यसमाथि सुरुङको मुख पत्ता लगाउनै नसकिएपछि कसरी उद्धार हुन्छ ?’
नेपालमा जलविद्युत् आयोजनाका सुरुङबारे सुरक्षा निकायलाई पनि जानकारी हुँदैन। सुरुङभित्रको उद्धार पूर्वअभ्याससमेत नभएकाले कठिनाइ भएको उनको बुझाइ छ।
प्रकाशित: १५ भाद्र २०८३ १०:५९ सोमबार


-600x400.jpg)


