२ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

सरकारसँग वार्ता गर्न च्यातिएको सर्ट लगाएर जाने को हुन् ?

नेपाल सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ बीच सिंहदरबारमा सुरु भएको औपचारिक वार्तामा एक सदस्य च्यातिएको सर्ट लगाएर सहभागी भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको वार्ता टेबलमा च्यातिएको पुरानो सर्ट लगाएर बस्ने ती व्यक्ति विवादास्पद पृष्ठभूमिका अभियन्ता विजय थापा हुन्।

वार्ता टोलीका अन्य सदस्यहरू सामान्य औपचारिक पोसाकमा रहँदा थापा भने च्यातिएको सर्टमै सरकारी अधिकारीहरूसामु प्रस्तुत भएका थिए। उनले आफू ‘पीडित’ भएका कारण सांकेतिक रूपमा सोही अवस्थामा आएको दाबी गरेका छन्।

महाअभियानका संयोजक विष्णु बोहरा क्षेत्रीको नेतृत्वमा गठित ९ सदस्यीय वार्ता टोलीमा थापासहित देवी संग्रौला, हरदेव महतो, लीलादेवी दनुवार, लाल शाह, रिकु मण्डल, राजु आचार्य र नरेन्द्र लामा सदस्य रहेका छन्।

को हुन् विजय थापा ? यस्तो छ विगतको पृष्ठभूमि

च्यातिएको सर्ट लगाएर सिंहदरबारको वार्तामा पुगेका थापा विगतदेखि नै विभिन्न अनशन र विवादास्पद गतिविधिको कारण चर्चामा आउने पात्र हुन्।

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले २०७५ पुसमा इलाममा अनशन बस्दा थापाले करिब एक किलोमिटर पर बसेर डा. केसीको विरोधमा उल्टो अनशन सुरु गरेका थिए।

डा. केसीसँग सरकारले गरेको सम्झौता खारेज हुनुपर्ने र केसीको तलब-भत्ता छानबिन गरिनुपर्ने माग राखेका उनलाई त्यतिबेला तत्कालीन सत्तापक्षबाट परिचालित भएको आरोप लागेको थियो।

त्यसलगत्तै २०७५ फागुनमा काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै थापाले डा. केसीले फेरि अनशनको चेतावनी दिए आफूले पनि जुनसुकै कुनाबाट प्रति-अनशन थाल्ने घोषणा गरेका थिए।

आशयपत्र लिइसकेका निजी मेडिकल कलेजहरूलाई सम्बन्धन दिनुपर्ने पक्षमा वकालत गर्दै आएका उनले अस्ट्रेलियाको एआईबीटी कलेजमा विद्यार्थी अलपत्र परेको घटना उठाउँदै डा. केसी र उनका समर्थकहरूले नाटक मञ्चन गरेको आरोप लगाएका थिए।

यसैगरी, वि.सं. २०७६ माघमा उनले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको योग्यतामाथि छानबिन हुनुपर्ने माग राख्दै आयोगको मूल गेटमै आमरण अनशन बस्ने चेतावनी दिएका थिए।

विगतमा निजी मेडिकल कलेज सञ्चालकहरूको पक्षपोषण तथा डा. गोविन्द केसीको खरो विरोधमा उत्रिँदै आएका थापा अहिले दुर्गा प्रसाईंको महाअभियानमा ‘पीडित’ को परिचय दिँदै सरकारी वार्ता टोलीसँग आमनेसामने भएका हुन्।

प्रकाशित: २ भाद्र २०८३ २०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App