एक दम्पतीका २८ सन्तान भन्ने सुन्दा ‘दन्त्यकथा’ जस्तै लाग्न सक्छ तर उमेरमा यो कथालाई वास्तविकता बनाइदिएका थिए - धनप्रसाद र बच्छीमाया कठेतले।
इलाम नगरपालिका–५ बरबोटेमा बसोबास गर्ने धनप्रसाद र बच्छीमायाले १४ छोरा र १४ छोरीलाई जन्म दिएका हुन्। अहिले धनप्रसाद ९४ वर्ष र बच्छीमाया ८४ वर्षका भएका छन्। उनीहरू लौरो टेकेर हिँडडुल गरिरहेकै छन्। १५ वर्षको हुँदा पहिलो सन्तान जन्माएकी बच्छीमायाले २०४६ सालमा कान्छो सन्तानलाई जन्म दिइन्। कठेत दम्पतीका २८ सन्तानमध्ये अहिले १३ जना छन्।
‘कोही जन्मिनेबित्तिकै, कोही जन्मेको केही दिनपछि र कोही ठुलो भएपछि विभिन्न बिमार लागेर स्वर्ग गए,’बच्छीमायाले भनिन्, ‘त्यतिबेला न अस्पताल न सुँडेनी थिए। सन्तान जन्माउने, हुर्काउने, दबाई–औषधि सबै आफूले जे जानेको छ, त्यही गरियो। जन्म दिएका आधालाई बचाउन सकिएन।’ त्यतिबेला झाडापखाला, लुतो, निमोनिया, दादुरा, पानीसराजस्ता रोगले बालबालिकाको मृत्यु हुनेगरेको उनी सम्झिन्छिन्।
पुरुषप्रधान समाज थियो। पति धनप्रसादसमेत सामाजिक काममा थिए। घरको सबै काम भ्याएर पनि सन्तानको रेखदेख गर्नुपथ्र्याे बच्छीमायाले। ‘कोही सन्तान घाँस काट्दाकाट्दै जन्मिए, कोही दाउरा ल्याउँदाल्याउँदै बाटैमा जन्मिए,’ उनले सम्झिइन्, ‘डाक्टरको अनुहार कसैले देखेनन्। कसरी जन्माइयो खै, अहिलेचाहिँ सपनाजस्तो लाग्छ।’
कठेत दम्पतीको घर त्यतिबेला पाँचथरको रानीटार तमाखेमा थियो। केही वर्षयता उनीहरू कहिले कान्छा छोराको इलामको बरबोटेस्थित घरमा बस्छन् त कहिले अर्का छोराको घर झापा दमकमा। बच्छीमायालाई २८ सन्तान जन्माउँदाताका आफू मान्छेभन्दा पनि मेसिन जस्तो लाग्दोरहेछ। ‘१५ वर्ष हुँदादेखि उमेर हुँदासम्म कहिल्यै पेट खाली भएन,’ उनले ती दिन सम्झिँदै भनिन्, ‘मलाई आफू मान्छे नै होइनजस्तो लाग्थ्यो।’
बच्छीमाया जन्मेर ५ महिनाकी हुँदा उनका बुबा परमधाम भए। आमा अर्कैसँग बिहे गरेर गइन्। आमा र नयाँ बुबाले बच्छीमायालाई ११ वर्षको उमेरमा धनप्रसादसँग बिहे गरिदिएका थिए। बर्सेनि छोराछोरी जन्माउँदा गाउँ–समाजले त्यति राम्रो नभने पनि त्यतिबेला अहिलेजस्तो अनौठोचाहिँ नभएको बच्छीमायाले सुनाइन्। ‘बर्सेनि कोखमा बच्चा हुँदा राम्रो त कहाँ भन्थे र। तर पनि अरू उपाय थिएन। भगवान्ले दिए, हात थाप्नुपरिहाल्यो नि,’ उनले भनिन्, ‘कतिले त कसका धेरै छोराछोरी छन् भनेर गन्ती पनि गर्थे। दसैंमा टीका लगाएर आशीर्वाद दिँदा सन्तानले डाँडाकाँडा ढाकून् भन्ने पनि थिए !’
धनप्रसादले अहिले कोही छोराछोरी पाँचथरको रानीटारमै, कोही विदेश, कोही इलाम र झापातिर बस्ने गरेको बताए। ‘म राजनीतिक कार्यकर्ता पनि थिएँ। उसबेला घरपरिवार सबै महिलाले नै हेर्नुपथ्र्याे,’ धनप्रसाद भन्छन्, ‘सन्तानचाहिँ भगवान्का आशीर्वाद हुन् भन्ने लाग्यो हामीलाई।’
छोराछोरीलाई खुवाउने, पियाउने, नुवाइदिने, कपडा धुने, सुताउनेदेखि घरभित्रका अन्य काम गरेर पनि घाँसदाउरा, मेलापात गर्नु बच्छीमायाको बाध्यता थियो। बच्छीमाया भन्छिन्, ‘अहिले त सम्झिँदा पनि कहाली लाग्छ।’
अहिले कठेत दम्पती खुसीसाथ जीवन बिताइरहेका छन्। बच्छीमायालाई रक्तचाप र चिनी रोग छ। उनी सामान्य हिँडडुल गर्न सक्छिन्। धनप्रसाद पनि हिँडडुल गर्न सक्छन्। अन्तरे छोरा विदेशमा छन्। छोराले काम गर्ने देश हेर्न जाने रहर छ बच्छीमायालाई तर उमेर र रोगले यो सपना पूरा होला जस्तो उनलाई लाग्दैन। ‘उमेरमा न मीठो खान पाइयो न राम्रो लाउन, कतै घुम्न जाने त कुरै हुँदैनथ्यो,’ उनले भनिन्, ‘अहिले फुर्सदैफुर्सद छ, सबैथोक छ तर रोग र उमेरले न मीठो खान दिन्छ न कतै घुम्न जान नै सकिन्छ।’
प्रकाशित: २५ भाद्र २०८३ ०९:५३ बिहीबार





