२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

सङ्खुवासभाको पाँचखपन नगरपालिका-८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। पाँचखपन-८ पोख्राङमा गएराति वर्षासँगै आएको चट्याङ लागेर अलैँची केलाउँदै गरेका एक जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन्।

पाँचखपन-८ पोख्राङमा अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए। हावाहुरी वर्षासँगै वर्षेको चट्याङ लागेर गम्भीर घाइते भएका २८ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा भर्ना गरे लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तैगरी, चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएका प्रहरी निरीक्षक राजवंशीले बताए। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

गम्भीर घाइते ६४ वर्षीय  कट्वाल र ६२ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी भर्तिवाल डाँडाबाट करिब चार किलोमिटरपूर्वमा रहेको जनाइएको छ। रासस

प्रकाशित: २५ भाद्र २०८३ ०९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App