राष्ट्रिय फूल लालीगुराँसको इतिहास अब गौरवभन्दा चिन्तातर्फ मोडिएको छ। यसको दोहनले अहिले गुराँस सीमित भूभागमा खुम्चिँदै गएको छ।
आँखै अगाडि रुख ठुटो बनाइएका देख्दा मन दुख्छ। अर्कोतर्फ, गुराँसको जंगल मासेर खोरिया बनाउने प्रवृत्तिले यसको अस्तित्वमाथि थप दबाब सिर्जना भएको छ।
एक समय व्यापक पाइने गुराँस अहिले बोट समेत देखिन छाडेको छ। पहिले घर नजिकै पाइने गुराँस हेर्न अहिले निकै टाढा पुग्नुपर्छ।
जुम्लाका आठ स्थानीय तहका ६० वडाका उच्च पहाडी क्षेत्रमा गुराँस पाइन्छ। तर ‘जहाँ सहज पहुँच, त्यहीँ क्षति’ भन्ने अवस्था देखिन्छ। पछिल्लो समय पाहुनालाई गुराँसको माला लगाएर स्वागत गर्ने चलनले पनि यसको दोहन बढाएको छ। फागुनपछि सुरु हुने गुराँसको सिजन अहिले पनि आकर्षणको केन्द्र बनेको छ। नयाँ वर्ष आसपास वन क्षेत्रमा भीड लाग्छ।
जुम्लाको पातारासी–६ की सरिता बुढा भन्छिन्, ‘गुराँस फुलेपछि सबैलाई त्यहीँ जान मन लाग्छ।’ तर यही आकर्षण संरक्षणमा रूपान्तरण हुन सकेको छैन। विज्ञहरूका अनुसार गुराँस केवल सौन्दर्यको प्रतीक मात्र होइन, औषधीय रूपमा पनि महत्त्वपूर्ण वनस्पति हो। रातो गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ।
गाउँघरमा घाँटी दुख्दा वा अन्य समस्यामा यसको प्रयोग गर्ने परम्परा अझै जीवित छ। तर उपयोग र संरक्षणबीच सन्तुलन कायम हुन सकेको छैन। चेरे, कर्णाली प्राविधिक शिक्षालयको जंगल, रडिखल्ला, धिमी, डाँफे लेक, खाली, पटमारा र छकलेपानी क्षेत्र गुराँसका प्रमुख थलो मानिन्छन्। यी क्षेत्रहरू अहिले पनि आकर्षक छन्, तर जोखिमबाट मुक्त छैनन्।
लालीगुराँस संरक्षणका नाममा नीति छन्, तर कार्यान्वयन कमजोर छ। स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीच समन्वय अभाव देखिन्छ।
प्रकाशित: २८ चैत्र २०८२ १२:२० शनिबार





