अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित बनेको छ।
नेपाल प्रहरीले शनिबार दिउँसोसम्म सार्वजनिक गरेको विवरणअनुसार, कोशी, बागमती र कर्णाली प्रदेशका केही महत्त्वपूर्ण राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन्।
संखुवासभामा कोशी राजमार्ग, रसुवामा चीनको नाका जोड्ने पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग तथा रुकुम पश्चिम र डोल्पामा भेरी करिडोरका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन्।
यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही सडक खण्डमा भने पहिरो पन्छाएर एकतर्फी यातायात सुचारु गरिएको छ।
प्रहरीका अनुसार बागलुङ र गुल्मी भएर जाने कालीगण्डकी करिडोर तथा रोल्पाको शहीद राजमार्गमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्।
प्रहरीले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी राखेको र यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।

प्रकाशित: २८ असार २०८२ १५:४६ शनिबार





