नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबारबाट सञ्चालनमा आएको छ। निर्माण थालेको ८० महिनापछि सुरुङमार्ग सञ्चालनमा आएको हो। पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीको गाडीका लागि चौबिसै घण्टा सुरुङ खुला हुने छ। सुरुङ सञ्चालनका लागि आवश्यक जनशक्ति तयार नहुँदा आम सर्वसाधारणले त्यसको प्रयोग कहिलेदेखि गर्न पाउने भन्ने अझै निश्चित भएको छैन।
पहिलो चरणमा तीन महिनालाई परीक्षणकाल भनिए पनि सुरुङ सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन हुन नसक्दा सर्वधारणका लागि भने अझै सुरुङयात्रा निश्चित छैन। आवश्यक तयारी र जनशक्तिको व्यवस्थापनभन्दा उद्घाटनमा हतारो गर्ने विगतलाई निरन्तरता दिँदै वर्तमान सरकारले पनि सुरुङ उद्घाटन गरेको हो। ४२ महिनाभित्र काम सक्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी नगरपालिका–२ स्थित टुटीपाखामा २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास गरेका थिए। आयोजनामा १६ अर्ब रुपैयाँ जाइकाको सहुलियतपूर्ण ऋण छ भने मुआब्जालगायत कुल निर्माण खर्च २४ अर्ब खर्च रहेको आयोजनाले जनाएको छ।
खर्च जोगिन्छ कि बढ्छ ?
सुरुङमार्गको उद्घाटनसँगै नेपालको सडक मार्ग नयाँ चरणमा प्रवेश गरेको छ। तर यति ठुलो रकम खर्चेर निर्माण गरिएको सुरुङ मार्गबाट आम सर्वधारणका लागि लागत र लगानी जोगियो या अझ खर्च बढ्यो भन्ने प्रश्न जन्मिएको छ। दुई र तीन पांग्रे सवारीका साथै प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधनले सुरुङ मार्ग प्रयोग गर्न पाउने छैनन्। जसले सुरुङमार्ग प्रयोग गर्न पाउने छन्, उनीहरूले त्यसबापत ६० रुपैयाँ देखि ६०० रुपैयाँसम्म शुल्क तिनुपर्ने हुन्छ। यो सुरुङले पुरानो राजमार्गभन्दा केवल २.६८ किलोमिटर मात्र दुरी घट्ने छ। सुरुङमार्गको दुरी २.६८ किलोमिटर छ। त्यसबाहेक पहुँच सडकमा पुग्न पूर्वतर्फ २.३२० र पश्चिम ०.५६५ किलोमिटर दुरी छ।
निर्माण थालेको ८० महिनापछि परीक्षण सञ्चालनमा आएको नागढुंगा–सिस्ने खोला सुरुङमार्गको प्रयोग सर्वसाधारणले कहिलेदेखि गर्न पाउने भन्ने अझै निश्चित छैन।
यात्राका लागि ठुला सवारीसाधनले ६०० रुपैयाँसम्म शुल्क बुझाउँदा यसबाट यात्रा झनै महँगो पर्ने देखिएको छ। यद्यपि सडक विभागका महानिर्देशक डा. विजय जैशीले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको समय र पैसा दुवै बचत हुने बताए। ‘उकालोमा तेल बढी खान्छ, एक नम्बर गियरमा उकालो चढाउनुपर्छ। उकालोमा गाडी गुडाउँदा इन्जिनको चाप बढ्छ तर सुरुङमार्ग प्रयोग गर्दा इन्जिनको चाप घट्छ,’ महानिर्देशक जैशीले भने, ‘सुरुङमार्ग प्रयोग नगरी सवारीसाधनलाई उक्त सडकमा यात्रा पूरा गर्न ३० मिनेट लाग्छ तर प्रयोग गर्दा सात मिनेटमै यात्रा पूरा हुन्छ। यसबाट २३ मिनेट समय बच्छ। लामो समयसम्म ट्राफिक जाममा पर्ने झन्झट बेहोर्नुपर्दैन।’ उनका अनुसार सुरुङमार्ग प्रयोग गर्दा सबैभन्दा ठुलो फाइदा ट्राफिक सुरक्षा हो। ‘सुरुङमार्ग प्रयोग नगर्दा दुर्घटनाको सम्भावना रहिरन्छ तर प्रयोग गर्दा दुर्घटनाको सम्भावना करिबकरिब हुँदैन।’ विभागका अनुसार सिस्नेखोला–बलम्बु जोड्ने सुरुङमार्गबाट २.८ किलोमिटर दुरी घट्ने भएको छ।
शुल्क कति छ ?
सुरुङमार्ग प्रयोग गरेबापत काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट धादिङ प्रवेश गर्ने सवारीसाधनका हकमा फरकफरक शुल्क राखिएको छ। कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रूपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क बुझाउनुपर्ने छ। यसैगरी मिनी बस, मिनी टिपर/ट्रकको प्रवेशका लागि ११५ रुपैयाँ, बाहिरिँदा ८० रुपैयाँ तथा बस, ट्रक (सिंगल रियर एक्सल) लाई प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क बुझाउनुपर्छ। यसैगरी मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणका हकमा प्रवेश गर्नुपरे ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ। जुन अहिलेको पेट्रोलियम पदार्थको मूल्यलाई नै आधार बनाउने हो भने हलुका सवारीसाधनभन्दा मालवाहक सवारीसाधनको खर्च थप बढ्ने छ।
तत्काल कुनकुन सवारी गुड्छन् ?
अहिले सबै किसिमका सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्न पाउँदैनन्। हाल दमकल, एम्बुलेन्स, सुरक्षाकर्मीका सवारीसाधनलगायत सवारीले मात्र सुरुङमार्ग प्रवेश गर्ने छन्। विभागका अनुसार केही समय परीक्षण सञ्चालन अवधि रहने छ। उक्त अवधिमा अन्य सवारीसाधनलाई समेत क्रमशः चरणबद्ध रूपमा प्रवेश गराई सुरुङको सुरक्षा प्रणाली, सञ्चालन व्यवस्था तथा आपतकालीन प्रतिकार्य प्रणालीको परीक्षण गरिने छ।
परीक्षण सञ्चालन अवधिभर सुरुङ प्रयोगबापत कुनै टोल दस्तुर लिइने छैन। परीक्षण सञ्चालन सफलतापूर्वक सम्पन्न भई सुरुङमार्ग नियमित रूपमा सञ्चालनमा आएपछि तोकिएको दरअनुसार टोल दस्तुर संकलन गरिने छ। विभागका अनुसार टोल व्यवस्थापनलाई आधुनिक र प्रभावकारी बनाउन आरएफआइडीमा आधारित विद्युतीय टोल संकलन प्रणाली जडान गरिएको छ। सडक बोर्ड नेपालबाट स्वीकृत आरएफआइडी पास तोकिएका बैंकमार्फत उपलब्ध छन् भने अन्य अधिकृत बैंकहरूले पनि उक्त प्रणालीमा आबद्ध हुने कार्य अन्तिम चरणमा रहेको विभागको भनाइ छ।
विभागका अनुसार मुख्य सुरुङ २.६८८ किलोमिटर लामो छ। उक्त सुरुङमार्ग दुई लेनमा सञ्चालन हुने छ। यसको चौडाइ ११ मिटर तथा उचाइ ८.१५ मिटरको छ। यसैगरी आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ। यसको चौडाइ ५.१ मिटर छ भने उचाइ चार मिटर छ। यसैगरी मुख्य सुरुङ र आपतकालीन सुरुङबिच करिब प्रत्येक ३७५ मिटरमा सात वटा क्रस प्यासेज पहुँच मार्ग राखिएका छन्। यस आयोजनामा पुल, कल्भर्ट, फ्लाइओभर तथा अन्य १२ वटा संरचना तयार गरिएका छन्। हाल सुरुङमार्गसँग जोडिएको राजमार्ग भएर दैनिक करिब १३ हजार सवारीसधान आवतजात गर्ने जनाइएको छ।
प्रकाशित: १२ श्रावण २०८३ ०८:५१ मंगलबार





