३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

जब जनकपुर न्यूरो अस्पतालको रिपोर्ट काठमाडौंको नर्भिकमा गलत सावित भयो...

जनकपुर न्यूरो हस्पिटलले ‘फ्याक्चर’ नै नभएको बिरामीको रीढको हड्डी ‘फ्याक्चर’ भएको भन्दै शल्यक्रिया गर्न खोजेको घटना सर्वजानिक भएको छ। सिटी स्क्यानको गलत रिपोर्ट बनाएर शल्यक्रिया गर्न खोजेको पाइएपछि अस्पतालको नियतमाथि नै प्रश्न उब्जिएको छ।

२०८१ अषाढ २८ गते न्यूरोमा उपचारका लागि पुगेका धनुषा मिथिला नगरपालिका–८ जमुनिवासका उमेश महतोका तीन वर्षीय छोरा प्रियान्सको रीढको सी–५ र सी–७ हड्डी ‘फ्याक्चर’ भएको रिपार्ट बनाइएको हो। तर, त्यसकै भोलिपल्ट काठमाडौं नर्भिक पुगेर पुनः सिटी स्क्यान गराउँदा सामान्य चोट मात्रै देखिएपछि जनकपुर न्यूरोले रिपोर्ट गलत बनाएको खुलेको हो।

जनकपुर न्यूरोका चिकित्सकले शल्यक्रिया गर्नुपर्ने भनिएका प्रियान्सलाई काठमाडौंको नर्भिकले शल्यक्रिया आवश्यक नरहेको र औषधिबाट ठिक हुने भनेपछि न्यूरोको गलत रिपोर्ट सार्वजिनक भयो। 

जनकपुरका न्यूरोसर्जन चिकित्सक विजय राउतले प्रियान्सलाई हेरेका थिए। नर्भिकका चिकित्सक राजिव झाको टीम उपचारमा संलग्न थियो। यो विषयमा नागरिकन्युजले कुरा गर्न खोज्दा न्यूरो हस्पिटलका सञ्चालक तथा चिकित्सक विजय राउत सम्पर्कमा आउन चाहेनन्।

प्रियान्स २०८१ अषाढ २७ गते छतबाट खसेर घाइते भएका थिए। उनलाई त्यहीँ दिन उपचारका लगि न्यूरो हस्पिटलमा भर्ना गराएको उनका बुबा उमेश महतोले बताए।

‘न्यूरोका चिकित्सकले प्रियान्सलाई संघन कक्ष (आइसीयू) मा राखेर उपचार गर्न थाले। शरीरमा बाहिरी चोट नदेखिए पनि छोरा अचेत अवस्थामा थियो,' महतोले भने,‘ चिकित्सकले छोराको सिटी स्क्यान र एक्सरे गर्न लगाए। त्यसको भोलिपल्ट बिहान ११ बजे सिटी स्क्यानको रिर्पोट आयो। रिपोर्ट आएपछि चिकित्सकले हामीलाई बोलाएर सी ५ र सी ७ स्पाइनलमा समस्या देखिएको छ। तत्कालै शल्यक्रिया (अप्रेशन) गर्नुपर्छ भनियो।’

प्रियान्सका परिवारजनले अप्रेशन न्यूरोमै गराउने की बाहिर लैजाने भन्नेबारे छलफल गर्न थाले। अन्त्यमा उनीहरुले जनकपुरमा अप्रेशन नगराउने निष्कर्ष निकाल्दै काठमाडौं जाने योजना बनाए।

त्यसपछि न्यूरोका चिकित्सकले बाहिर लैजान त सक्नुहुन्छ तर बिरामीको शरीर हल्लिनु हुँदैन भनेर सुझाएको उमेशले बताए। ‘हामीहरु न्यूरोको रिपोर्टमा पूर्ण सन्तुष्ट थिएनौं। यहाँ अप्रेशन गराउन डर लाग्यो त्यसमा चिकित्सकले बाहिर लैजाँदा शरीर हल्लिनु हुँदैन भने। त्यसपछि हामीले काठमाडौंमा रहेका आफन्तलाई जानकारी गरायाैं,' महतोले भने ‘आफन्तले काठमाडौंको नर्भिक हस्पिटलबाट हेलिकप्टरमार्फत् चिकित्सकसहितको टोली पठाइदिए। जनकपुरमा करिब १६-१७ घण्टाको उपचार पश्चात काठमाण्डौं लग्यौं।’

‘नर्भिकमा फेरि त्यहीँ जाँचहरु भयो तर त्यहाँको रिपोर्टमा जनकपुर न्यूरोले भनेको जस्तो केही देखिएन। चोट मात्रै देखिएको चिकित्सकले बताए। अप्रेशन गर्नुपर्दैन औषधिले ठिक हुन्छ भनेपछि आफूहरुको मन हल्का भएको सम्झिँदै महतोले भने ‘जनकपुर न्यूरोले पैसाकै लागि गलत रिपोर्ट बनाएर अप्रेशन गर्न खोजेको रहेछ थाहा पाएँ।’

जनकपुर न्यूरो हस्पिटलमा १६/१७ घण्टाको उपचारमा मात्रै पौने दुई लाख रुपैयाँ बुझाएको उनले बताए। ‘नर्भिकका चिकित्सकले दुई दिनमै घर लैजान भनेका थिए। तर पनि हामीले छोराको स्वास्थ्यमा राम्रोसँग सुधार भएपछि मात्रै घर फर्किने भनेर ७ दिन नर्भिकमा राख्यौं, उनले भने ‘हामी घर आएपछि जनकपुरको न्यूरोमा पुगेर तपाईंहरुको गलत रिपोर्टका कारण हेलिकप्टर भाडामा मात्रै मेरो चार लाख भन्दा बढी खर्च भयो। हेलिकप्टर भाडा न्यूरोले व्यहोर्नुपर्छ भनेर हस्पिटल संचालक तथा चिकित्सक विजय राउतलाई भन्यौं तर उनले तपाईंको छोराको ज्यान जोगाएको भन्दै उल्टै थर्काए।’

न्यूरोका संचालकले थर्काएर पठाएपछि न्यायको गुहार गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेको उनले बताए। ‘न्यूरोको कारण आफूलाई अनावश्यक खर्च भएको रकम तिराउन जिल्ला अधिकारी समक्ष निवेदन दिए। तर त्यहाँ कुनै सुनवाइ नै नगरी अहिलेसम्म मेरो निवेदन प्रशासनमै थन्किएको छ।  

महतोले भने, ‘न्यूरोका कारण मेरो परिवारले आर्थिक र मानसिक पीडा झेलेको छ। डाक्टरलाई हामी भगवानको दोस्रो रुपमा बुझ्छौं। तर पैसाकै लागि गलत रिर्पोट बनाउने सामान्य औषधिबाटै निको हुने चोटपटकलाई अप्रेशन गरिने न्यूरो हस्पिटलले उपचारको नाममा बदमासी गर्न खोजिएको देखियो।’ 

प्रायः दुर्घटनामा परी घाइते भएकाहरु न्यूरो हस्पिटलमा पुग्ने गर्छन। जतिसुकै गम्भीर घाइतेहरु न्यूरोमा पुगे भर्ना गरिन्छ। बिरामीको स्वास्थ्यमा सुधार नदेखेपछि परिवाजनले पैसा दिन अनाकानी गर्न थालेपछि मात्रै रेफर गरिन्छ।

प्रकाशित: १६ भाद्र २०८२ १९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App