सुकुम्बासीको अस्थायी व्यवस्थापनका लागि भक्तपुरको खरिपाटीमा दुई वटा भव्य भवन छुट्याइएका छन्। ती दुवै भवनको मुख्य प्रवेशद्वारअगाडि पाँच–सात वटा मेच बस्नका लागि राखिएका छन्। प्रवेशद्वारबाट भित्र पस्नेबित्तिकै एउटा फोटोकपी पेपरमा लेखेर टाँसिएका छन्, विभिन्न कोठा तथा तल्लामा प्रयोग हुने इन्टरनेटका पासवर्ड।
भवनहरू जति भव्य छन्, भित्रका कोठाहरू पनि उति नै सफा, सुन्दर र व्यवस्थित छन्। मानौं ती होल्डिङ सेन्टरका नभई तारे होटलका कोठा हुन्। खाना–खाजाका लागि छुट्टै भवनमा टेबलमै बसेर खाने व्यवस्था गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र रहेको कारण यो स्थान ठूलो क्षेत्रफलमा फैलिएको छ। फराकिलो खुला क्षेत्र (ओपन स्पेस) र चारैतिर फैलिएको हरियाली यस ठाउँको विशेष आकर्षण हो। ठूलो क्षेत्रफल, हरियो घाँसे मैदान र शान्त वातावरणका कारण यहाँ बसिरहेका सुकुम्बासीलाई दिन बिताउन खासै कठिनाइ देखिँदैन।
होल्डिङ सेन्टरमा खानेपानी, विद्युत्, शौचालय, स्नानघरदेखि इन्टरनेट सेवासमेत उपलब्ध गराइएको छ। बालबालिकाको पठनपाठनमा सहजता होस् र नागरिकले सरकारी तथा अन्य आवश्यक अनलाइन सेवा उपयोग गर्न सकून् भन्ने उद्देश्यले इन्टरनेटको व्यवस्था गरिएको स्थानीय व्यवस्थापन पक्षले जनाएको छ।
होल्डिङ सेन्टरमा उपलब्ध गराइएका आधारभूत सेवाप्रति सकारात्मक प्रतिक्रिया जनाए पनि त्यहाँ रहेका सुकुम्बासीहरूले आफ्नो मुख्य अपेक्षा स्थायी आवास र सम्मानजनक जीवनयापनको सुनिश्चितता रहेको बताएका छन्। सरोकारवाला निकायले होल्डिङ सेन्टरलाई अस्थायी व्यवस्थापनका रूपमा सञ्चालन गर्दै प्रभावित परिवारलाई क्रमिक रूपमा स्थायी आवास व्यवस्थापनतर्फ लैजाने योजना रहेको जनाएको छ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोदकुमार खड्काका अनुसार यसअघि त्यहाँ २०८ जना सुकुम्बासी थिए। तर पछिल्लो पटक नेपाल सरकारले प्रति परिवार २५ हजार रुपैयाँ दिएर व्यवस्थापन गरेपछि त्यहाँ २५ जना मात्रै बाँकी रहेका थिए। तर काठमाडौंको कीर्तिपुरस्थित अस्थायी सुकुम्बासी शिविर डुबानमा परेपछि त्यहाँका सुकुम्बासीलाई पनि खरिपाटी ल्याउने कार्य अहिले जारी छ। त्यसकारण यहाँ बस्ने सुकुम्बासीको संख्या अझ बढ्ने उनले बताए।
होल्डिङ सेन्टरमा बसोबास गर्ने अधिकांश परिवार दैनिक ज्यालादारी तथा अनौपचारिक क्षेत्रमा निर्भर छन्। खरिपाटीबाट रोजगारीका केन्द्रसम्म पुग्न समय र यातायात खर्च बढ्दा दैनिक जीवन झन् कठिन बन्दै गएको उनीहरूको भनाइ छ। यही कारण कतिपयले कोठामा ताला लगाएर काममा जाने गरेका छन्। बालबालिकाको शिक्षामा पनि यहाँ चुनौती देखिएको छ। विद्यालय टाढा हुँदा नियमित आवतजावतमा समस्या हुने गरेको अभिभावकहरूले बताएका छन्। आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्री जुटाउनसमेत कठिनाइ भइरहेको उनीहरूको गुनासो छ।

गृहमन्त्री दुई घण्टा सेन्टरमा
गृहमन्त्री सुदन गुरुङसहित उच्च सरकारी टोलीले आइतबार होल्डिङ सेन्टरको निरीक्षण गरेको छ। गृहमन्त्रीसहितको टोली त्यहाँ झण्डै दुई घण्टा बसेको थियो। बिहान ११ बजेर ५ मिनेटमा गेटभित्र प्रवेश गरेको टोली १२ बजेर ५० मिनेटमा बाहिरिएको थियो।
गृहमन्त्रीको नेतृत्वमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय भक्तपुर तथा जिल्लाका सुरक्षा निकायका उच्च अधिकारीहरू खरिपाटी होल्डिङ सेन्टर पुगेका थिए। टोलीले सेन्टरको व्यवस्थापन, पूर्वाधार, सेवा–सुविधा तथा त्यहाँ आश्रित परिवारहरूको अवस्थाबारे जानकारी लिएको जनाइएको छ। तर समाचार संकलनका लागि पुगेका पत्रकारलाई मुख्य प्रवेशद्वारबाटै रोकिएको थियो।
गृहमन्त्री सुधन गुरुङ सँगै भूमि व्यवस्था मन्त्री प्रतिभा रावल, महिला बालबालिका मन्त्री सिता बादी, स्वास्थ्य मन्त्री निशा मेहता, सरकरका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोख्रेल र श्रम मन्त्री रामजी यादव भक्तपुरमा रहेको खरिपाटि र बोडेमा रहेको सुकुम्बासि राखिएको होल्डिङ सेन्टर पुगेका थिए।
गृहमन्त्री होल्डिङ सेन्टर आएको खबरपछि भक्तपुर क्षेत्र नं. १ का सांसद् रुकेश रञ्जितसहित उनको तीन सदस्यीय सचिवालयको टोली एउटै गाडीमा सेन्टरभित्र प्रवेश गरेको थियो। गृहमन्त्री पुगेको झण्डै ४५ मिनेटपछि सांसद रञ्जित सेन्टर पुगेका थिए। यसअघि प्रमुख जिल्ला अधिकारी, एसपीलगायत उच्च सुरक्षा अधिकारीहरूको टोली भने सेन्टरमै उपस्थित थियो।
बिहान ११ बजेर ५ मिनेटमा होल्डिङ सेन्टर पुगेको टोली १२ बजेर ५० मिनेटमा बाहिरिएको थियो। बाहिरिने क्रममा पनि गृहमन्त्रीसहित टोलीका कुनै सदस्यले पत्रकारसँग कुराकानी गरेनन्। उनीहरू मुख्य गेटबाट सिधै बाहिरिएका थिए।
प्रकाशित: २८ असार २०८३ १६:४२ आइतबार





