कहिलेकाहीँ इतिहास यति अनौठो ढंगले लेखिन्छ कि त्यसलाई पढ्दा लाग्छ, यो कुनै फिल्मको स्क्रिप्ट हो। पछिल्लो छ महिनामा नेपालमा जे भयो, त्यो पनि त्यस्तै लाग्छ। मानौँ कुनै कथाकारले रातारात एउटा कथा लेख्यो, निर्देशकले त्यसलाई चलचित्र बनाए र जनता दर्शक भएर त्यो चलचित्र प्रत्यक्ष हेर्न बाध्य भए।
सबै कुरा एउटा सामान्य आह्वानबाट सुरु भयो। एक दिनको आन्दोलन। सामान्यतया आन्दोलन भनेपछि केही नाराबाजी, केही झडप, केही घाइते र केही गिरफ्तारी हुन्छन् भन्ने नेपालीहरूको पुरानो अनुभव थियो। तर यसपटक आन्दोलनले आफ्नै कथा लेख्यो। आन्दोलनको भोलिपल्ट जुन विध्वंस भयो, त्यो कुनै आन्दोलनको परिणाम कम र कुनै दक्षिण भारतीय एक्सन चलचित्रको ‘क्लाइमेक्स’ दृश्य जस्तो बढी देखियो।
देशका मुख्य–मुख्य संस्थाहरू आगोको ज्वालामा हराए। सिंहदरबार खरानी भयो, सर्वोच्च अदालत ध्वस्त भयो, संसद भवन पनि इतिहास बन्यो। राज्यका तीनवटै अंग एकैपटक धुलोमा मिसिए। त्यसमा पनि चौथो अंग भनिने सञ्चार संस्थाहरू समेत आक्रोशको निशानाबाट जोगिन सकेनन्। मानौँ कुनै अदृश्य निर्देशकले भनेको हो, ‘अब यो दृश्यमा सबै ढल्नुपर्छ।’
राजनीतिक नेताहरूको अवस्था झन् रोचक बन्यो। सत्ता चलाइरहेका नेता अचानक सुरक्षाको खोजीमा सेनाको छानातिर दौडिए। सत्ता, शक्ति र भाषणले भरिएको राजनीति एकाएक जीवन जोगाउने संघर्षमा बदलियो। जसले देश चलाउने दाबी गर्थे, उनीहरू आफैँ सुरक्षित कुनामा शरण लिन बाध्य भए।
देश एकाएक ‘शून्य अवस्था’ मा पुग्यो। त्यो शून्य यस्तो थियो जहाँ संविधान छ कि छैन भन्ने प्रश्न थियो, सरकार त थिएन नै। यस्तो अवस्थामा सामान्यतया सत्तामा सेना आउँछ, विद्रोही आउँछन् वा कुनै नयाँ शक्ति जन्मन्छ। तर नेपालले फेरि पनि चमत्कार नै रोज्यो।
यसपटक प्रधानमन्त्री छान्ने काम संसदले होइन, पार्टीको केन्द्रीय समितिले पनि होइन– सामाजिक सञ्जालले गर्यो। इतिहासमा पहिलो पटक फेसबुक, ट्विटर र टिकटकले प्रधानमन्त्री छान्ने बहस चलाए। पोस्ट, लाइक, सेयर र कमेन्टका बीचमा सरकार बन्यो। मानौँ लोकतन्त्रले नयाँ कार्यालय खोलेको हो, ‘डिजिटल दरबार।’
प्रधानमन्त्रीको सपथसँगै अर्को चमत्कार पनि भयो। सुशीला कार्कीलाई छ महिनाभित्र चुनाव गराउने जिम्मा दिइयो। वृद्ध पूर्वप्रधान न्यायाधीशले फेरि एकपटक देशको राजनीतिक नाटकको मुख्य पात्र बन्नुपर्यो। उनको अवस्था एउटा यस्तो पात्रको जस्तो थियो जसलाई कथा लेख्नेले बीचमा फ्याँकिदियो र भन्यो, ‘अब तपाईंले नै कथा मिलाउनुस्।’
तर कथा मिलाउन सजिलो थिएन। एकातिर आन्दोलनका विद्रोही जेन–जेड युवा थिए, जसलाई पुरानो राजनीति देख्दा ‘एलर्जी’ आउँथ्यो। अर्कोतिर पुराना दलहरू थिए, जसलाई सत्ता गुम्नु संसारको अन्त्य जस्तो लाग्थ्यो। त्यसमाथि भू–राजनीतिक छायाँ पनि सधैँझैँ मडारिइरहेको थियो। नेपाललाई भूगोलले जति सानो बनाएको छ, राजनीति र कूटनीतिले त्यति नै जटिल बनाएको छ।
यसबीच अर्को बहस सुरु भयो– आन्दोलन किन भयो? गोली कसले चलायो? भोलिपल्टको विध्वंस कसले गरायो? यी प्रश्नहरू राजनीति, टेलिभिजन बहस र सामाजिक सञ्जालमा घुमिरहे। तर उत्तर भने सधैँझैँ धुवाँझैँ हावामा उडिरहे।
अर्को बहस अझ रोचक थियो– चुनाव हुन्छ कि हुँदैन? कसैले भने सुरक्षा छैन। कसैले भने निष्पक्ष हुँदैन। कसैले भने फागुनमा चुनाव सम्भव छैन किनकि हिमाली जिल्लामा हिउँ पर्छ। कतिपय ज्योतिषी त यति आत्मविश्वासका साथ बोले कि चुनाव भए आफ्नै घाँटी काट्छु भन्न पनि पछि परेनन्। नेपालमा राजनीति, ज्योतिष र भविष्यवाणीबीचको सम्बन्ध सधैँ अनौठो रहँदै आएको छ।
तर फेरि पनि चमत्कार भयो। चुनाव भयो। शान्तिपूर्ण भयो। निष्पक्ष भयो। सबैले स्वीकार गर्ने परिणाम आयो।
त्यसपछि अर्को चमत्कार। धेरै विश्लेषकहरू भन्थे– यो संविधान र यो प्रणालीमा कसैले सय सिट ल्याउन सक्दैन। तर राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो भविष्यवाणी चिरेर झण्डै दुईतिहाइ सिट ल्यायो। विश्लेषकहरू चकित भए, पुराना दलहरू स्तब्ध भए र मतदाताले आफूले गरेको निर्णयको परिणाम हेर्दै बसे।
यसबीच अर्को चमत्कारिक दृश्य पनि देखियो। सुरुमा एकअर्काको नाम सुन्न पनि तयार नदेखिने बालेन्द्र शाह र रवि लामिछाने एउटै राजनीतिक यात्रामा देखिए। नेपालको राजनीतिमा यस्ता मिलनहरू कहिलेकाहीँ हिमाल पग्लिएजस्तै दुर्लभ हुन्छन्। तर यो मिलन पनि चमत्कारकै अर्को संस्करण भयो।
यति धेरै चमत्कारहरू पछि अब एउटा सानो तर गम्भीर सत्य बाँकी छ, अब चमत्कारले देश चल्दैन।
देशलाई अब फिल्मको स्क्रिप्ट होइन, कामको योजना चाहिन्छ। आन्दोलनको ऊर्जा प्रशासनिक सुधारमा बदल्नुपर्छ। नारालाई नीति बनाउनुपर्छ। क्रान्तिको भाषालाई विकासको भाषामा अनुवाद गर्नुपर्छ।
तर चुनौतीहरू साना छैनन्। अपेक्षाका पहाड छन्। जनताले परिवर्तन तुरुन्तै देख्न चाहन्छन्। तर स्रोत–साधन सीमित छन्। कर्मचारीतन्त्र उही छ– जुन वर्षौँदेखि परिवर्तनलाई कागजमै रोक्ने कलामा निपुण छ। भू–राजनीतिक दबाब पनि उस्तै छ। दुई विशाल छिमेकीबीच सन्तुलन राख्ने पुरानो परीक्षा अझै जारी छ।
छ महिनामा देशले चमत्कारै चमत्कार देख्यो। आन्दोलन चमत्कार, विध्वंस चमत्कार, प्रधानमन्त्री चयन चमत्कार, चुनाव चमत्कार र चुनावको परिणाम पनि चमत्कार।
तर इतिहासको अर्को अध्याय चमत्कारले होइन, कामले लेखिन्छ।
अब प्रश्न एउटा मात्र बाँकी छ, नेपालले अर्को छ महिनामा चमत्कार देख्नेछ, कि अन्ततः वास्तविक काम सुरु हुनेछ?
प्रकाशित: २५ फाल्गुन २०८२ १६:५५ सोमबार





-600x400.jpg)