नेपाल विद्युत् प्राधिकरणका अनुसार रोपाइँको याममा खडेरी परेपछि मोटरबाट पानी तान्ने, गर्मीका कारण एयरकन्डिसन, पंखालगायत विद्युतीय सामग्रीको उपभोग अत्यधिक बढ्दा चितवनमा विद्युत् भार व्यवस्थापन गर्न कठिन भएको छ।
मुख्य गरी पश्चिम चितवनको चनौली सवस्टेशनमार्फत वितरण गरिएको विद्युत्मा बढी भार परेको हो। विद्युत् भार बढेसँगै नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापनका लागि केही दिन आलोपालो विद्युत् मिलाएर भार व्यवस्थापनको काम थालेको छ। नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जीतेन्द्रकुमार झाका अनुसार प्राविधिक काम भइरहेकाले यही साउन १५ गतेभित्र काम सम्पन्न गरी भारको समस्या समाधान हुने बताए।
डिभिजन प्रमुख झाले पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत् जडानको काम सोमबारसम्म सकिने जानकारी दिए। विद्युत्को समस्या भरतपुर र माडीमा मात्र नभएर पूर्वी चितवनका टाँडी, पर्सा भण्डारालगायत क्षेत्रमा रहेको उनले बताए। हर्दी स्टेशन चलेपछि चितवनका विभिन्न क्षेत्रमा देखिएको समस्याको धेरै समाधान हुने उनले जानकारी दिए।
प्रमुख झाले भने, ‘हामी हर्दी स्टेशनबाट विद्युत् दिएर भरतपुर, पर्साको लोड घटाउने र हर्दीबाट भरतपुरको देवनगर सवस्टेशनमा विद्युत् पठाउने काममा लागेका छौं।’ देवनगर स्टेशन ३३ केभीएबाट सिधै जगतपुरमा लाइन सप्लाई गरेर अहिले भइरहेको चनौलीको लोड कम गराउने उनले बताए।
यो तात्कालिक समस्या समाधान गरेर दीर्घकालीन रूपमा भरतपुर–चैनपुर ३३ केभीको काम सम्पन्न गरेर समाधान गरिने झाले बताए। सो आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै उनले छ महिनाभित्र काम सम्पन्न भएर दीर्घकालीन समाधान हुने बताए।
उनले भने, ‘हामीले लोडसेडिङ गरेका होइनौं, केही दिनका लागि लोड व्यवस्थापन र लाइन विस्तारका लागि आलोपालो मिलाएका हौं।’ तार तान्ने र मर्मतको काम भइरहेको भन्दै प्रमुख झाले अन्य विपत्ति नआएमा साउन १५ गतेबाट जिल्लाको विद्युत्को समस्या समाधान हुने बताए।
शनिबार नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा आलोपालो विद्युत् तालिका सार्वजनिक गरेपछि चौतर्फी आलोचना भएको छ। ‘लोडसेडिङको तालिका सार्वजनिक गरेको’ भन्दै सर्वसाधारणले विरोध जनाए। रासस
प्रकाशित: ११ श्रावण २०८२ २१:१० आइतबार