सुक्खा याममा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि भोजपुरमा सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ।
चैत १ गतेदेखि जिल्लामा ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ वन डढेलो व्यवस्थापन सम्बन्धी सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो।
सोही क्रममा आज बिहान जिल्ला सदरमुकाममा सचेतनामूलक नारासहित प्रभातफेरीसमेत गरिएको छ। डिभिजन वन कार्यालयको आयोजनामा भएको प्रभातफेरीका सहभागीहरूको हातमा रहेको प्लेकार्डमा वनजङ्गलमा आगो नलगाऔं, जङ्गल र जैविक विविधताको संरक्षण गरौं, डढेलो लागेमा प्रहरीलाई खबर गरौँ जस्ता विभिन्न सचेतनामूलक नारा थिए।
डिभिजन वन कार्यालयका अधिकृत कपिलदेव अधिकारीले वन क्षेत्रमा लाग्ने डढेलोका कारण जैविक विविधता एवं वन सम्पदा नष्ट हुने भएकाले यसको नियन्त्रणमा सबैको हातेमालो जरुरी रहेकाले सचेतनामूलक कार्यक्रम गरिएको बताए।
प्रभातफेरीमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मी, कार्यालयका प्रमुख, उद्योगी व्यवसायी, वनसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार लगायतको सहभागिता थियो।
जिल्लामा आउँदाे चैत ७ गतेसम्म वन डढेलो व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू हुनेछन्।
प्रकाशित: ३ चैत्र २०८२ १२:५० मंगलबार





