वर्षाका कारण हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न नदी–तटीय क्षेत्रमा मौसम मापन केन्द्र तथा बाढी मापन केन्द्र व्यवस्थित गर्न थालिएको छ।
सुनकोशी र रोशी नदी आसपासका विभिन्न क्षेत्रमा ती केन्द्रमा उपकरण व्यवस्थित गर्न थालिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार जिल्लास्थित तीन वटा बाढी मापन केन्द्र र एउटा स्थानमा मौसम मापन केन्द्र स्थापना गर्न लागिएको हो। यसका लागि सरोकारवाला निकाय तथा स्थानीय नागरिकसँग विभागले छलफलसमेत गरिसकेको छ।
मौसम र बाढीबारे जानकारी गराउन जिल्लाको सात स्थानमा मौसम मापन उपकरण र तीन स्थानमा बाढी मापन उपकरण जडान गरिएको विभागका वरिष्ठ हाइड्रोलोजिष्ट विनोद पराजुलीले जानकारी दिए। उनका धुलिखेल, खोपासी, नाला, पाँचखाल, मण्डनदेउपुर, दोलालघाट र पचुवारघाटमा मौसम मापन उपकरण जडान गरिएको छ।
सुनकोशी नदीअन्तर्गत दोलालघाट र पचुवारघाट तथा पनौती बजार नजिकै बाढी मापन उपकरण जडान गरिएको छ। रोशी गाउँपालिका–२ फलामेसाँघुमा मौसम मापन उपकरण तथा पनौती र नमोबुद्ध नगरपालिकाको सिमाना, रोशी खोला पुल र रोशी–सुनकोशीको सङ्मस्थल नेपालथोक नजिकको पुलमा बाढी मापन उपकरण थप्ने प्रक्रिया अघि बढाइएको पराजुलीले बताए। उनका अनुसार पनौतीको गोरखनाथ मन्दिर छेउमा परीक्षणका लागि बाढीको जानकारी दिने बत्ती समेत जडान गरिएको छ। रासस
प्रकाशित: १ असार २०८३ १०:०१ सोमबार


-600x400.jpg)


