बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावका कारण आगामी २४ घण्टासम्म देशका विभिन्न भागमा मौसम बदली रहँदै मेघ गर्जन र चट्याङसहित मध्यमदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ। ती प्रदेशका पहाडी र तराई भूभागमा मेघ गर्जन, चट्याङ र मध्यम वर्षा हुने अनुमान गरिएको छ।
लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा पनि वर्षा हुने सम्भावना छ।
विभागले विशेष गरी कोसी, बागमती र मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पर्न सक्ने चेतावनी दिँदै सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ।
प्रकाशित: १८ आश्विन २०८२ १८:५९ शनिबार





