७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

देशभर मौसममा फेरबदल : वर्षा, चट्याङ र असिनाको जोखिम

देशभर यस साता मौसममा उल्लेखनीय फेरबदल देखिएको छ। मौसमविद्का अनुसार विभिन्न भूभागमा भारी वर्षा, चट्याङ, असिना तथा हावाहुरीको सम्भावना रहेकाले जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ। 

आज (शनिबार) दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ।

त्यसैगरी राति पनि कोशी, मधेश र बागमती प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

भोलि (आइतबार) पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने र  तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहँदा राति अधिकांश स्थानमा मौसम क्रमशः सुधार हुने विभागले जनाएको छ।

सोमबार पनि पहाडी तथा हिमाली क्षेत्रमा बदली  हुने र विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही स्थानमा तथा अन्य प्रदेशमा थोरै स्थानमा मेघगर्जन सहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

यसैबीच, आज असिनासहितको वर्षाको जोखिम कायम रहेको मौसमविद्ले बताएका छन्। दाङ जिल्लाको घोराही, सुखबारे तथा लमही–लालमटिया क्षेत्रमा मध्यम वर्षा हुने पनि मौसमविद्को भनाइ छ।

हाल भारतको बिहार हुँदै गोरखपुर–बगाहा क्षेत्रबाट चितवनको माडी क्षेत्रमा प्रवेश गर्न लागेको वर्षा प्रणाली उत्तर–पूर्वतर्फ सर्ने क्रममा रहेको छ। यो प्रणाली पश्चिम चितवन, पूर्वी चितवन, धादिङ र मकवानपुर हुँदै  काठमाडौं उपत्यकामा पुग्ने अनुमान गरिएको छ।

विशेषगरी चितवनका भण्डारा, टाँडी, भरतपुर, मुग्लिङ र शक्तिखोर क्षेत्रमा केही समय ठूलो वर्षा हुन सक्ने मौसमविद्को भनाइ छ। वर्षा करिब ३ घण्टासम्म रहने अनुमान छ। काठमाडौं आइपुग्दा प्रणाली कमजोर हुने भएकाले भारी वर्षाको सम्भावना कम रहने जनाइएको छ।

प्रकाशित: ७ चैत्र २०८२ १२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App