‘हामीले दयाभन्दा सम्मान, अवसर र सहभागिता चाहन्छौं। अपाङ्गता भएका व्यक्तिलाई समाजले अवसर दिनुपर्छ, कृपा होइन,’ यो आवाज थियो जुम्लाको चन्दननाथ नगरपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित अपाङ्गता भएका व्यक्तिहरूको।
नगरस्तरीय अपाङ्गता सञ्जाल सदस्य कमला सेजुवालले भनिन्, ‘अपाङ्गता केवल जन्मजात हुनुपर्छ भन्ने बाध्यता छैन। विभिन्न कारणले व्यक्ति अपाङ्ग हुन सक्छन्, त्यसैले राज्यले उनीहरूको क्षमता अनुसार रोजगारी र अवसर सुनिश्चित गर्नुपर्ने आवश्यकता छ।’

‘हामीलाई माग्नेमात्र होइन, अधिकारसहित कर्तव्यबोध गरिने वातावरण चाहिन्छ। अधिकार र कर्तव्यको सन्तुलन समाजले ल्याउनुपर्छ,’ उनले भनिन्।
महिला तथा बालबालिका शाखा प्रमुख अम्बिका मल्लले अपाङ्गता दिवसलाई हक–अधिकार संरक्षण र सचेतना फैलाउने अवसरको रूपमा मूल्याङ्कन गरिन्। यस अवसरमा अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको थियो। नगरपालिकाले हालसम्म ४३ जना अपाङ्गता बालबालिकाको दर्ता गरिसकेको जानकारी उनले दिइन्।
अपाङ्गता भएका महिलालाई अनुदान र अन्य सेवासुविधा उपलब्ध गराइरहेको पनि उनले उल्लेख गरिन्।अपाङ पुनःस्थापना विकास केन्द्र जुम्लाका सदस्य कमला बुढाले संविधानमा व्यवस्था गरिएका अधिकारहरू व्यवहारमा लागू गराउनु राज्यको जिम्मेवारी भएकोमा जोड दिइन्।

राष्ट्रिय मानवअधिकार आयोग जुम्लाकी प्रमुख कल्पना नेपाल (आचार्य)ले पनि अपाङ्गता भएका व्यक्तिको सम्मानजनक जीवन सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताइन्।
यस्तै चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले भने, ‘शारीरिक अपाङ्गता भन्दा बौद्धिक अपाङ्गता चुनौतीपूर्ण हुन सक्छ, तर मानसिक दृढता भएका व्यक्तिले असाधारण उपलब्धि हासिल गर्न सक्छन्। अभिभावक र राज्य दुवैले जिम्मेवारी पूरा गरेमा अपाङ्गता भएका व्यक्तिको भविष्य उज्ज्वल हुन सक्छ।’
दिवसको अवसरमा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गर्यो। कार्यक्रममा कार्यवाहक मेयर रवि थापा, अपाङ पुनःस्थापना विकास केन्द्रका अध्यक्ष यज्ञ बहादुर बुढ्थापा, र नगरपालिका–५ का कावडाध्यक्ष बृख बहादुर कार्की उपस्थित थिए।
प्रकाशित: १७ मंसिर २०८२ २१:३४ बुधबार





