नेपाल पत्रकार महासंघ आजदेखि स्थापनाको ७१औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा अध्यक्ष निर्मला शर्माले शुभकामना सन्देश दिँदै महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा समर्पित रहेको बताएकी छन्।
सन्देशमा उनले स्थापनाकालदेखि नेतृत्व दिने अग्रजहरूप्रति सम्मान र सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छिन्। सात दशक लामो इतिहास बोकेको महासंघले व्यावसायिक पत्रकारितामार्फत लोकतन्त्र र विधिको शासन स्थापनालाई प्राथमिकता दिएको उनको भनाइ रहेको छ।
अध्यक्ष शर्माले सूचना प्रविधिको विकाससँगै बढ्दो मिथ्या सूचनाको प्रवाहलाई मुख्य चुनौतीका रूपमा चित्रण गरिन्। उनले भनेकी छन्, ‘जिम्मेवार पत्रकारिता गर्दै महासंघको मर्यादा उँचो बनाउने र इतिहासको गौरवलाई नयाँ उचाइमा पुर्याउने जिम्मेवारी हाम्रा सामु छ।’
नयाँ सरकार गठनसँगै राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास व्यक्त गर्दै उनले सञ्चारसम्बन्धी कानुनहरू सरोकारवालासँग छलफल गरेर मात्र ल्याउन आग्रह गरिन्। साथै, जेनजी आन्दोलनका क्रममा मारमा परेका सञ्चारगृह र पत्रकारहरूलाई क्षतिपूर्ति दिलाउन पनि उनले माग गरेकी छन्।
राज्यका कुनै पनि निकायबाट प्रेस स्वतन्त्रता संकुचन गर्ने प्रयास भए त्यसको प्रतिवाद गर्ने उनले स्पष्ट पारेकी छिन्। पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटना बढेकोमा चिन्ता व्यक्त गर्दै उनले सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल भइरहेको जानकारी समेत दिइन्। उनले जनताको सही सूचना पाउने अधिकार सुनिश्चित गर्न सबैलाई अपिलसमेत गरिन्।

प्रकाशित: १६ चैत्र २०८२ ११:३१ सोमबार





