२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

कोशीमा पानीको प्रवाह चरम खतराको बिन्दुमा : ५६ वटै ढोका खोलियो, सवारी आवागमनमा रोक

शुक्रबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेर खतराको संकेत पार गरेको छ। अहिले कोशी नदीमा पानीको प्रवाह चरम खतराको बिन्दुमा पुगेपछि कोशी ब्यारेज पुल भएर सवारी आवागमनमा रोक लगाइएको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।

नियन्त्रण कक्षकाअनुसार अहिले कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड चार लाख ३१ हजार ५२५ क्युसेक पुगेको छ। पानीको बहाव बढ्न थालेपछि कोशी ब्यारेजका सम्पूर्ण ५६ वटै ढोका खोलिएका छन्।

तराई मधेस र पूर्वी पहाडी जिल्लामा भइरहेको अविरल वर्षाका कारण पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ। स्थानीय प्रशासनले कोशी ब्यारेज आसपास बस्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बर पुरीले जानकारी दिए।

कोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै गएको हुँदा, नदी किनारका बासिन्दाहरू, किसानहरू, र यात्रुहरूलाई विशेष सावधानी अपनाउन स्थानीय प्रशासनले अपिल गरेको छ। डुंगा, बोट, वा अन्य सवारीसाधन प्रयोग गर्दा अत्यधिक सतर्क रह्न समेत भनिएको छ। कोशी किनार नजिक नजान स्थानीय प्रशासनले सूचना जारी गरेको छ।

प्रकाशित: १९ आश्विन २०८२ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App