नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको दुईपिप्लेस्थित कार्यालयका लागि महेन्द्रराज वाग्लेले एक रोपनी जग्गा दान गरेका छन्।
विद्युत् प्राधिकरणको कार्यालय नहुँदा भाडामा सञ्चालन भइरहेकाले भवन निर्माणका लागि जग्गा दान गरेको उनले बताए। वाग्लेले सोही क्षेत्रमा खानेपानी कार्यालयका लागि पनि पाँच आना जग्गा निःशुल्क उपलब्ध गराएका छन्।
सोही स्थानमा प्रहरी चौकी, सामुदायिक प्रहरी सेवा केन्द्र, क्याम्पस, खानेपानी, साना किसान सहकारी, आमा समूहलाई कार्यालय स्थापना गर्न वाग्लेले जग्गा उपलब्ध गराउँदै आएका छन्।
मध्यनेपाल नगरपालिका–४ रम्घाका वाग्लेले पुष्पलता क्याम्पससँगै रहेको एक रोपनी जग्गा विद्युत् कार्यालयका लागि प्रदान गरेका छन्। उनले गत वैशाखमा उक्त जग्गा विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका नाममा पास गरेका थिए।
यसैबीच जग्गा दातालाई नेपाल विद्युत् प्राधिकरणको ४० औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको छ। वाग्लेलाई तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले दोसल्ला र प्रशंसापत्रले सम्मान गरेका छन्। रासस
प्रकाशित: २ भाद्र २०८२ २१:२६ सोमबार





