२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

पारिवारिक सम्बन्धको हिंस्रक रूप: एकै महिनामा तीन जनाको आफन्तबाटै हत्या

आफ्नो घर र आफ्नै परिवारजनबिच असमझदारी बढ्दै जाँदा परिवार भित्रबाटै ज्यान लिने संख्या बढ्दै गएको छ।  घरेलु झैझगडा हुँदा आफन्तबाटै मारिने यी घटनाले पारिवारिक अपराधको बढ्दो ग्राफलाई चित्रण गर्छन्। 

बाहिरी व्यक्ती वा समूहभन्दा आफ्ना पारिवारिक सदस्यबाट असुरक्षा बढ्दै गएको छ। घरेलु विवाद, अनैतिक यौन सम्बन्ध, शंका उपशङ्का नै यसको प्रमुख कारक रहेको पाइन्छ।  गएको एक महिनाभित्र अर्घाखाँचीमा तिन जनाको हत्या भएको छ सबै हत्या परिवारजनबाट भएको छ। 

घटना नम्बर–१

असार १ गते छत्रदेव गाउँपालिकामा आफ्नै पत्नीले पतिको ज्यान लिइन्। छत्रदेव गाउँपालिका–३, दुन्द्रुक शिख्रे बस्ने २७ वर्षीय मेखमाया कुमालले आफ्नै ३८ वर्षीय पति रामु कुमालको धारिलो हतियार (दाउ) प्रहार गरी हत्या गरेकी थिइन्। 

मेखमायाले घरायसी विवादमा सामान्य झैझगडा गरेर सँगै सुतेका पतिलाई रिसको झोँकमा राति साढे १२ बजे उठेर दाउ टाउकोमा हिर्काएको बयान दिएकी छन्। झगडाको प्रमुख कारण महिलाको परपुरुषसँगको सम्बन्ध रहेको भनिएको छ। 

घटना नम्बर–२ 

असार १२ गते शितगंगा नगरपालिका–६ जुकेना पाखापानीका ४२ वर्षीय टेकबहादुर बादीले आफ्नै सहोदर भाइ ३२ वर्षीय बोमबहादुर बादीको बन्चरो प्रहार गरी हत्या गरे।

सँगै बसेर मदिरा सेवन गरिरहेका दाजुभाइबिच चुरोटको विषयमा विवाद सुरु भएको थियो। उक्त विवाद लम्बिँदा उग्र रूप लिएर हत्यासम्म पुग्यो।  चुरोटको विषयमा सुरु भएको विवाद देवर–भाउजुको अनैतिक सम्बन्धसम्म पुगेको बताइन्छ। 

घटना नम्बर–३ 

असार २६ गते सन्धिखर्क नगरपालिका–१२, डिभर्ना बाँझ खर्कमा ७२ वर्षीय जंगबहादुर नेपालीको झड्केलो छोरा बुद्धिबहादुर नेपालीले धारिलो हतियार प्रयोग गरी निर्मम हत्या गरेका थिए। हत्यापछि घटना लुकाउन बुवाको शवलाई मलखादमा गाडे।

मदिरा सेवन गरेर घरमा पुगेका नेपालीले बुवासँग झगडा गरेका थिए। झगडाले उग्र रूप लिएपछि उनले बुवामाथि कुटपिट गर्दा मृत्यु भएको थियो। यो घटनामा आपसी मेल नहुनु कारण देखिएको छ यद्यपि घटनाको अनुसन्धान भइरहेको छ। 

यी ताजा र प्रतिनिधि घटना हुन्। अर्घाखाँचीमा पछिल्ला तीन वर्षमा भएका दर्जन हत्यामध्ये अधिकांश परिवार र आफन्तबाट नै भएको देखिएका छन्। मानिसले आफूलाई सबैभन्दा सुरक्षित ठान्ने परिवार, आफन्त र निकटस्थ हुन्। तर विभिन्न बहानामा सुरु हुने असमझदारी आवेशमा भौतिक आक्रमणसम्म पुग्दा जघन्य अपराधमा रूपान्तरण हुने गरेको छ। 

२०७९ कार्तिक ४ गते वृद्ध भत्ता बुझेर आएका सहोदर दाजुले भाइलाई भिरबाट धकेले। भुमिकास्थान–१, ढाकाबाटमा ७४ वर्षीय दाजुले ७० वर्षीय भाइको पैसाको प्रलोभनमा परेर ज्यान लिएका थिए। 

२०८१ कात्तिक २८ गते शितगंगामा मामाले भान्जाको हत्या गरेका थिए। शितगंगा–६, सानाढुंग्रेमा मामा–भान्जाले सँगै बसेर मदिरा सेवन गरिरहँदा झगडा हुँदा ३५ वर्षीय भान्जालाई ५३ वर्षीय मामाले हत्या गरेका थिए।

मदिरा सेवन र अनैतिक सम्बन्ध आफन्तबाट असुरक्षित हुनुका प्रमुख कारक रहे पनि असमझदारी, प्रलोभन, पारिवारिक सम्बन्ध सुमधुर हुन नसक्नु, एक अर्काप्रति विश्वास गुम्नु तथा आपसमा बेमेलको वातावरण सृजना हुँदा घरभित्रै अपराधका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) चक्रबहादुर मल्लले बताउँछन्। 

‘धेरै कारणहरू छन् जसले गर्दा परिवार र आफन्तबाटै अपराध बढाइरहेको छ,’ उनले भने, ‘परिवारभित्रको हत्या लगायतका जघन्य अपराध रोकथाम र न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरू गरिराखेका छौँ ।’ 

परिवार भित्रबाट हुने हिंसा र जघन्य अपराध रोक्न एक्लो व्यक्ती वा संस्थाबाट मात्र सम्भव नभएकाले समाजमा बस्ने सबैको उत्तिकै दायित्व रहेको अधिवक्ता जगन्नाथ भुसालले बताए । स्थानीय पालिका, प्रहरी, सामाजिक संघसंस्था, विद्यालय र अन्य सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र यसको न्यूनीकरण सम्भव रहेको उनले बताए ।

प्रकाशित: ३ श्रावण २०८२ १७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App