३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

सहरी विकास मन्त्रालयको अनुगमन गर्न सतर्कता टोली

राष्ट्रिय सतर्कता केन्द्रले सहरी विकास मन्त्रालयमा कर्मचारी व्यवस्थापनमा भएका त्रुटि तथा कमजोरीहरूको अनुगमन गरी दुई दिनभित्र प्रतिवेदन बुझाउन दुई सदस्यीय टोली गठन गरेको छ ।

उक्त टोलीलाई कर्मचारी व्यवस्थापन अन्तर्गत दरबन्दीको विवरण, पद अनुसार जिम्मेवारी दिए/नदिएको तथा पदस्थापन गरे/नगरेको विषयमा छानबिन गर्न  कार्यादेश दिइएको छ । केन्द्रले प्रहरी नायब उपरीक्षक बुद्धिराम खनाल र नायब सुब्बा राजेश कुमार देवकोटा सदस्य रहेको एउटा टोली गठन गरेको हो ।

उक्त टोलीलाई भ्रष्टाचार निवारण ऐन (संशोधन सहित), २०५९ को दफा ३८ तथा राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ बमोजिम कार्यादेश सहित मन्त्रालयमा अनुगमन गरी प्रतिवेदन पेस गर्न लगाइएको छ ।

टोलीलाई  कर्मचारीहरूले समय पालना गर/नगरेको, तोकिएको पोसाक लगाए/नलगाएको विषयमा समेत विवरण पेस गर्न निर्देशन गरिएको छ । साथै दोहोरो जिम्मेवारी दिएका कर्मचारी तथा निकाय तथा आयोजनाहरूको विवरण  गर्न टोलीलाई काम लगाइएको छ ।

मन्त्रालय स्रोतका अनुसार मन्त्रालयमा सहसचिवको दरबन्दी  १७ जनाको छ । तर हाल १२ जना मात्र सहसचिव कार्यरत छन् । दुई जना सहसचिव मिलन आचार्य र रवीन्द्र बोहरालाई प्रदेशमा गरिएको छ । आचार्यलाई कोशी प्रदेश र बोहरालाई लुम्बिनी प्रदेश पठाइएको छ । यसैगरी मन्त्रालयका अर्का एक सहसचिव पद्म मैनालीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । यसैगरी अरु दुई जना सहसचिव नारायण भण्डारी र सुरेश वाग्ले भ्रष्ट्राचारको मुद्दा लागि निलम्बनमा परेका छन् । 

दरबन्दी अनुसार पाँच जना सहसचिव नपुगेकोले हाल तीन जना सहसचिवलाई दोहरो जिम्मेवारी दिइएको छ । प्रकिर्ण तुलाधरलाई सहरी महाशाखा तथा क्षेत्रीय सहरी विकास आयोजना, रोशन श्रेष्ठलाई पुनर्निर्माण महाशाखा तथा केन्द्रीय आयोजना कार्यान्वयन इकाई, तथा सुनिल ठाकुरलाई भवन महाशाखा तथा विशेष भवनको आयोजनाको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयमा हाल ६७ जना उपसचिवको दरबन्दी छ । केही दिन अघि मात्र २० जना उपसचिव बढुवा भएर मन्त्रालयमा आएका छन् । ती मध्ये पाँच जना उपसचिवले अझै  जिम्मेवारी पाएका छैनन् । जिम्मेवारी नपाउने उपसचिवहरूमा अनुपम भट्टराई, आशिष केसी, मोनिका महर्जन, सुदर्शन न्यौपाने, तथा संगिता बराल रहेका छन् ।

प्रकाशित: १२ भाद्र २०८२ १९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App