६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

कोशी नदी पुलबाट सवारी साधन सञ्‍चालनमा, बाढीको तह भने चरम खतराकै बिन्दुमा

शुक्रबार रातिदेखि परिरहेको अबिरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेर खतराको संकेत पार गरेपछि कोशी पुलबाट बन्द गरिएको आवागमन अपराह्नदेखि खुलेको छ । आवागमन खुलेपछि कोशी पुलको पूर्वपश्चिम रोकिएका सवारी साधन गन्तव्यतर्फ जान थालेका छन् ।  

अहिले कोशी नदीमा पानीको प्रवाह चरम खतराको बिन्दुमै रहेपनि बराहक्षेत्रतर्फ पानीको प्रवाह कम हुन थालेकोले कोशी पुलबाट सवारी आवागमन खुल्ला गरिएको सप्तरीको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।  

कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार अहिले कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड पाँच लाख ३३ हजार ५४० क्युसेक पुगेको छ । पानीको बहाव बढ्ने क्रममा रहेपनि केही घन्टापछि घट्न सक्ने नियन्त्रण कक्षको आकलन छ । कोशी ब्यारेजका सम्पूर्ण ५६ वटै ढोका खोलिएका छन् ।  

स्थानीय प्रशासनले कोशी ब्यारेज आसपास बस्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बर पुरीले जानकारी दिए ।

कोशी नदीमा पानीको बहाव खतराको उच्चतम बिन्दु पार गरेको हुँदा, नदी किनारका बासिन्दाहरू, किसानहरू, र यात्रुहरूलाई विशेष सावधानी अपनाउन स्थानीय प्रशासनले अपिल गरेको छ । डुंगा, बोट, वा अन्य सवारीसाधन प्रयोग गर्दा अत्यधिक सतर्क रह्न समेत भनिएको छ । कोशी किनार नजिक नजान स्थानीय प्रशासनले सूचना जारी गरेको छ ।  

कोशी नदीमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक प्रतिसेकेन्ड पुगेपछि खतराको संकेत रातो झन्डा राख्ने गरिएको छ ।

प्रकाशित: १९ आश्विन २०८२ १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App