२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

फेरि सवारी भाडा बढ्न सक्ने, भाडा समायोजनको माग, नभए बढेको इन्धन मूल्य फिर्ता लिनुपर्ने

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सवारी साधनको भाडा पुनः समायोजन गर्न सरकारसँग माग गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार जारी गरेको विज्ञप्तिमा पछिल्लो भाडा समायोजनपछि नै दुई पटक इन्धनको मूल्य बढाइएको उल्लेख गर्दै भाडा पुनः समायोजन गर्न वा मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेका छन्।

विज्ञप्तिअनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण नेपाल आयल निगमले डिजेल र पेट्रोलमा पटक–पटक भारी मूल्यवृद्धि गरिरहेको छ। यसले सार्वजनिक यातायात तथा मालवाहक सवारी साधन सञ्चालनमा गम्भीर कठिनाइ सिर्जना गरेको महासंघको भनाइ छ।

महासंघले चैत २७ गते र वैशाख २ गते इन्धनमा गरिएको मूल्यवृद्धिपछि सरकारले २०६५ सालदेखि लागू गरेको वैज्ञानिक विधिअनुसार स्वचालित प्रणालीबाट भाडा समायोजन गर्नुपर्ने माग दोहोर्‍याएको छ। पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशतभन्दा बढी बढेमा सोहीअनुसार भाडा समायोजन हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्न महासंघले जोड दिएको छ।

त्यस्तै, वर्तमान विषम परिस्थितिलाई ध्यानमा राख्दै देशभर सेवा सञ्चालन गरिरहेका आफ्ना सदस्यहरूलाई इन्धन खपत घटाउने उपाय अपनाउन र सञ्चालन घाटा न्यूनीकरण गर्ने गरी सेवा सञ्चालन गर्न पनि महासंघले आग्रह गरेको छ।

विज्ञप्तिमा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमले पटक–पटक मूल्य बढाउने नीति त्यागी वैकल्पिक व्यवस्था मिलाउन समेत सरकारसमक्ष माग गरिएको छ।

 

प्रकाशित: ३ वैशाख २०८३ १५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App