दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् नदीमा यही साउन ३१ गते शनिबार बिहान ५ देखि राति ८ बजेसम्म जलाशय सफाइ गरिने भएको छ।
माथिल्लो तामाकोशी नदीमा पानीको सतह घटबढ हुने भएकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। जलाशय सफा गरिने भएकाले नदी तटीय क्षेत्र आसपासका स्थानीयलाई सतर्कता अपनाउन र सो दिन दिनभर पानीको सतह घटबढ हुने भएकाले केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको हो।
जलविद्युत् केन्द्रको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बर्खाको समयमा बाढीका कारण जलाशयमा बालुवा, गिट्टी थुप्रिएकाले सफा गर्न लागिएको बताए। सरसफाइ अवधिभर तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्य नगर्न र नगराउन जलविद्युत् केन्द्रले आग्रह गरेको छ।
केन्द्रले लामाबगर, छ्योतछ्योत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदीको दोभानसम्म सतर्कता अपनाउन आग्रह गरेको हो। साथै, नदी किनारमा परम्परा अनुसार दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा सतर्कतापूर्वक सावधानीका साथ गर्न गराउन आग्रह गरिएको छ।
जलाशय सफा गर्ने दिन दिनभर विद्युत् उत्पादन बन्द हुने केन्द्रले जनाएको छ।
प्रकाशित: ३० श्रावण २०८२ ०६:३९ शुक्रबार





