पूर्वी तराईका जिल्लामध्ये सुनसरी अन्नबाली उत्पादनको उर्वरभूमि मानिन्छ । पछिल्लो समय तरकारी उत्पादनको पनि मुख्य पकेट क्षेत्र बन्दै आएको छ । यहाँ बिहीबारदेखि अविरल रुपमा परेको बेमौसमी वर्षाका कारण धान र तरकारीमा ठूलो क्षति गरेको छ ।
धान वालीमा प्रायः अग्लो बोट भएको राधा १२ र बासमती धान लडेर पुरै पानीले भिजेको छ । यसरी पानीले भिजेको धान पाक्न अझै दुई साता लाग्ने भएकाले गर्दा अब वर्षा रोकिएता पनि पुरै धान काम नलाग्ने हुने कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले बताए । उनका अनुसार जिल्लाको हरिनगर, बर्जु, दुहवी र कोशी गाउँपालिकामा बढी मात्रमा धानमा क्षति भएको छ ।
सुनसरीमा अघिल्लो वर्ष दुई लाख १७ हजार ४१२ मेट्रिक टन धान उत्पादन भएको थियो । कुल ४८ हजार ४०९ हेक्टरमा धान खेती लगाइएको थियो । यस वर्ष पनि त्यति नै हेक्टरमा धानी बाली लगाएकोमा २० प्रतिशतभन्दा बढी उत्पादनमा कमी आउने केन्द्र ज्ञान केन्द्रका प्रमुख सिंहले नागरिकलाई बताए । उनका अनुसार हरेक पालिकास्तरबाट सुक्ष्म ढंगले क्षतिको विवरण पनि संकलन भइरहेको छ । ‘असोजमा पनि वर्षा भएको र फेरि विहीबारदेखिको वेमौसमी वर्षाले गर्दा किसानले बढी नोक्सानी बेहोनु पर्यो,’ उनले भने ।

जिल्लामा धान उत्पादनको मुख्य पकड क्षेत्र गढी, भोक्राहा नरसिंह, इनरुवा, बराहक्षेत्र, बर्जु र दुहवी मानिन्छ । कोशी, देवानगञ्ज र हरिनगर पनि धान उत्पादन हुने गरेको छ । यी सवै क्षेत्रमा धानमा पानीले क्षति गरेको छ ।
त्यसो त वर्षाले गर्दा किसानले लगाएको बेमौसी तरकारीमा पनि क्षति गरेको छ । सवैभन्दा बढी देवानगञ्ज, हरिनगर र कोशी गाउँपालिकाका किसानले लगाएको बेमौसमी तरकारीमा क्षति गरेको हो । देवानगञ्जका किसान रामवृक्ष मेहताले भने ‘अब केही दिन त पानी जम्ने निश्चित छ, जसले गर्दा तरकारी खेतीमा पनि पूर्ण रुपमा क्षति हुनेछ ।’
देवानगञ्जमा खेतीयोग्य जमीनलाई सदुपयोग गरेर व्यावसायिक रुपमा तरकारी खेती गर्नेको संख्या बढ्दो छ । तरकारी खेतीले ग्रामीण क्षेत्रका किसानको आर्थिक अवस्थामा आमूल सुधार ल्याएकैले गर्दा आकर्षित भएतापनि वर्षाले क्षति गर्दा निरास हुनुपरेको मेहताले बताए । यहाँका किसानले वार्षिक सात सय मेट्रिक टन तरकारी सुनसरी सदरमुकाम इनरुवा, विराटनगर हुँदै काठमाडौंसम्म निर्यात हुने गरेको छ ।
तरकारी खेतीको ‘पकेट’ क्षेत्र मानिएको इनरुवाको वविया, जल्पापुरसँगै भोक्राहा, नरसिंह, बराहक्षेत्र, दुहवी लगायतका स्थानमा पनि क्षति गरेको छ । किसानले बेमौसमी तरकारीको रुपमा काउली, मुला, भण्टा, प्याज, घिउ सिमी, तमे बोडी, काक्रो, भिन्डी, फर्सि, घिरौला लगायतका तरकारी लगाउने गरेका छन् ।
यहाँका किसानले उत्पादन गरेको तरकारी इनरुवाको थोक बजारबाट पूर्वका नाम चलेका प्रायः सवै बजारमा पुग्ने गर्छ । पूर्वका बजारबाहेक राजधानी काठमाडौ पनि यहाँको तरकारी जाने गरेको छ ।
यो पनि पढ्नुहोस्
बेमौसमी वर्षाले सुनसरीमा धान र तरकारी खेतीमा क्षतीप्रकाशित: १४ कार्तिक २०८२ २१:३२ शुक्रबार





