९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

बेमौसमी वर्षाका कारण झण्डै नौ करोडको काँचो इँटामा क्षति

दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड बराबरको काँचो इँटामा क्षति पुगेको छ।  

पोल्नका लागि तयारी अवस्थामा राखिएको ठूलो परिमाणको काँचो इँटा वर्षाले नष्ट भएकाे इँटा व्यवसायीले बताएका छन्। इँटा उद्योग व्यवसायी सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा बाँकेको पिबिसी इँटा उद्योगका सञ्चालक दीपक अधिकारीले वर्षाले नष्ट गर्दा रु आठ करोड ७५ लाख बराबरको क्षति भएको जानकारी दिए। उनले बेमौसमी वर्षाले एउटा उद्योगमा मात्र करिब पाँच लाख काँचो इँटा नष्ट भएको उल्लेख गरे।  

व्यवसायी अधिकारीले जिल्लामा रहेका ७० वटा इँटा उद्योगमा तीन करोड ५० लाख काँचो इँटा नष्ट भएकाले रु आठ करोड ७५ लाख बराबरको क्षति भएको बताए। एउटा काँचो इँटाको मूल्य रु २.५० पैसा पर्ने उनले बताए।  

व्यवसायीका अनुसार खुलाचौरमा भर्खरै तयार पारेर सुकाउन राखिएका अधिकांश इँटा पानीले भिजेर माटोमा परिणत भएका छन्। कर्णालीमा हिमपात भएसँगै बाँकेमा भएको वर्षाले यहाँका व्यवसायीले ठूलो क्षति बेहोर्नु परेको बाँकेका व्यवसायीहरुको भनाइ छ। 

इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर केसीले हरेक वर्ष बेमौसमी वर्षाको चपेटामा परेर जिल्लाका उद्योगीले ठूलो क्षति बेहोर्नु परेको बताए। उनले सरकारले काँचो इँटाको बिमा पनि नगर्ने र क्षतिपूर्ति पनि नदिने हुँदा व्यवसायीलाई ठूलो मर्का परेको उल्लेख गरे। 

प्रकाशित: ८ चैत्र २०८२ १५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App