ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिकाको सीमानामा रहेका मुख्य बजार क्षेत्रहरुमा दर्ता नभई व्यपार व्यवसाय सञ्चालन गर्नमा कडाई गर्ने भएको छ ।
म्याद नाघेका सामग्री बिक्री वितरण गरेको पाईए तथा फोहोरमैला जथाभावी फ्यालेमा कडा कारवाही हुने चेतावनी दिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले सोमबार सार्वजनिक सूचनामार्फत पालिकाका मुख्य सीमाना भित्र रहेका हान्द्रुङ, सिम्ले, थुम्बा, डाँडागाउँ, लिवाङ, हाङसाङचोक, थलङ, साँवा, तेम्बा, ताङ्खु र पापुङसहितका पालिका क्षेत्रमा व्यपार व्यवसाय सञ्चालन गर्दा पालिकामा अनिवार्य दर्ता गर्नुपर्ने बताएका छन् ।
जारी सूचनामा म्याद सकिएका सामान बिक्री गरेको पाइए कडा कारवाही गर्ने चेतावनी दिदैं उपभोक्तालाई पेय पदार्थसहितका उपभोग्य सामान किन्दा म्याद भए नभएको जाँच गर्न सुझाएका छन् ।
पालिकाले पसल, व्यवसायबाट निस्कने फोहोर, बोतल सार्वजनिक स्थलमा फालेर वातावरण दुषित गरे कारवाही चेतावनी दिएको छ । पालिकाको मुख्य सडक किनारमा पशु चौपाया बाँध्ने, पसलको फोहोर फालेको गुनासो आएकाले सावधानी अपनाउन सुझाएको छ । सडक किनारामा दुई मिटरसम्म सामग्री, दाउरा काठ जस्ता सामग्री राख्न नपाउने नियम पनि पालिकाले बनाएको छ ।
प्रकाशित: १७ कार्तिक २०८२ १६:१२ सोमबार





