रोल्पा लुङग्री गाउँपालिका ७ हार्जङका ३६ वर्षीय शिवलाल सिर्पाईली ३ वर्ष वैदेशिक रोजगारका लागी दुबई बसे । सानो काखे छोरो छोडेर गएका उनी फर्कदा कमाएर पठाएको ११ लाख र घरका सबै सामाग्री समेत बोकेर श्रीमती अर्कै पुरुषसँग बिहे गरेर हिडिसकेकी थिईन । ४ लाख थप ऋणसमेत थपेर माईतीमा छोरा छोडेर श्रीमती अन्यत्र हिडेपछि घर आएका सिर्पाईली बिरक्तिए ।
वैदेशिक रोजगारीबाट घर आएका उनी प्युठान ससुरालीबाट छोरा ल्याएर दाङ झरे । छोरा पढाउन दाङ झरेका उनले छोराको भबिष्य उज्यालो बनाउन घोराहीको एक होटलमा सुरक्षा गार्डका रुपमा काम गर्छन । सुरक्षा गार्डको रोजगारीले छोरालाई गतिलो स्कूलमा पढाउने रहर अधुरो हुने चिन्ताले सताएका उनलाई दाङकी सामाजिक अभियन्ता विमला योगीले भरथेक गर्ने भए पछि उज्यालिएका छन् ।
‘अहिले युकेजी पढिरहेको बच्चालाई यो शैक्षिक सत्र सोहि विद्यालयमा पढाउँछौ । अर्को शैक्षिक सत्रदेखि घोराहीको हिन्दूविद्यापीठमा ल्याएर कक्षा १२ सम्म उसको अध्ययनको जिम्मा हामीले लिने भएका छौ ।’ अभियन्ता विमला योगीले भनिन् ‘हामीले पढाईरहेका धेरै सन्तानको बिचमा अर्को सन्तान थपिएको हो ।’ योगीले यतिबेला दाङ र सो आसपासका करिब ३ सयभन्दा बढि बिपन्न बालबालिकालाई नि:शुल्क पढाईरहेकी छिन् भने करिब ५ सयभन्दा बढि विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालय पोषाक सहयोग गरिरहेकी छिन ।
चरम गरिबी, सामाजिक उपेक्षा, भेदभाव अनि बत्तीमुनिको अँध्यारो छ, दुर्गा भवानी टोल । दाङको घोराही बजारनजिकै अलि पर वडा नम्बर १३ सेवार खोला किनारको बादी बस्ती हरपल अभावको भुमरीमा रहन्छ । स्थानीय बादी समुदायका अनुसार गत निर्वाचनमा लस्कर लाएर भोट माग्न आउनेहरू त्यसपछि फर्केर आएका छैनन् । यहाँ जाडोमा चिसोको चिन्ता, गर्मीमा तातोको अनि वर्षामा बाढीको तनाव रहिरहन्छ ।
बस्तीमा बिहान खाएपछिको एउटा मात्र उद्यम छ, बेलुकाको खाना जुटाउने तयारी । यहाँका अधिकांश घरमा दिनभर मजदुरी गर्न पाइएन भने साँझ चुल्हो जल्दैन । अशिक्षा रहर हैन बाध्यता हो । स्कुल जानलाई किताब, कापी र कलमको जोहो भयो भने पनि पोसाकले रोक्छ । यहाँ सबैभन्दा बढी समस्या शिक्षामा छ । विकास भनेको सडक र भौतिक पूर्वाधार मात्र हो भन्ने बुझाइका कारण विपन्न लक्षित गतिला कार्यक्रम बनेका छैनन् ।
यो बस्तीका करिब ५ दर्जनभन्दा बढी बालबालिका पनि योगीका अघोषित सन्तान बनेका छन् । शैक्षिक सामाग्री, शिक्षक राखेर टिउसन पढाउनेदेखि आधा दर्जन बालबालिकाको शैक्षिक अपनत्व विमला कै काधमा छ । शैक्षिक सत्र सुरुहुने बेला फोन उठाउन भ्याइनभ्याई हुने उनको फोनमा अरु समयमा पनि बच्चा पढाईदिन र आर्थिक सहयोगका लागि अनुरोधका घण्टी बजिरहन्छन् । अति विपन्न परिवारका सन्तानका अघोषित आमा बनेकी योगीलाई शैक्षिक सहयोगका लागि मात्र नभएर लैङगिक हिंसा, आर्थिक सहयोगका फोन बजिरहन्छ ।
देशमा १० वर्ष माओवादी द्वन्द्व चलिरहँदा दाङका विभिन्न गाउँमा सामुहिक हत्या भएका परिवारका बालबालिकालाई पढाउन सुरु गरेको अभियानलाई अघि बढाउनु यतिबेला विमला योगीको जिम्मेवारी जस्तै बनेको छ । ‘द्वन्द्वताका दाङका विभिन्न गाउँमा सामुहिक हत्यापछि महिला आयोगले त्यहाँको अवस्था बुझ्न अनुरोध गर्यो । ती गाउँहरूमा जाँदा मृतक परिवारका महिलाहरू भारत जाने तरखरमा थिए । भारत पुग्दै गर्दा छोरीहरू सुरक्षित नहुन सक्छन् भन्ने लागेर हामीले मृतकका सन्तानलाई विद्यालयमा भर्ना गर्न सहयोग गर्यौं,’ सामाजिक अभियन्ता योगी भन्छिन्, ‘राज्य र विद्रोही पक्षको गाउँमा उपस्थिति हिंसात्मक भएपछि हामीले फरक काम थालेका हौं । त्यो काम यतिबेला अभियानसँगै जिम्मेवारी बनेको छ ।’
द्वन्द्वको समयमा राज्यले समेत नागरिकका मौलिक हकको समेत ख्याल नगरेकाले संस्थागत र व्यक्तिगत पहलमा महिलाले सुरु गरेको यो अभियान व्यापक बन्दै गएको छ । भर्ना शुल्क र मासिक शुल्क मात्र नभएर शैक्षिक सामग्री अभावमा होस् या पोसाक अभावमा कुनै बालबालिका विद्यालयको पहुँचमा नछुटोस् भन्ने मनशाय बोकेर ‘विमला योगी बालिका शिक्षा कार्यक्रम’ नै संचालनमा छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रको संस्थागत ४० लाख र योगीको व्यक्तिगत १० लाख गरी ५० लाख जम्मा गरेर अक्षयकोष कार्यान्वयनमा आए पनि सहयोग गर्नुपर्नेको संख्या धेरै भएकाले आर्थिक जोहो गर्न कठिन हुने गरेको छ । यतिबेला यहाँ विपन्न परिवारका बालबालिकाले शैक्षिक सहयोग पाएर विद्यालय जान थालेपछि स्थानियले योगीलाई आमाको संज्ञा दिन थालेका छन् ।
विद्यार्थीलाई सेनेटरी प्याड
सामान्यतया: ९ वर्षदेखि १५ वर्षसम्मको बीचमा महिनावारी चक्र सुरु हुन्छ । अपरिपक्व उमेरमा योनाङ्गबाट रगत आउने र समाजले लाज अनि फोहरका रुपमा चित्रण गरेको महिनावारीबारे गतिलो जानकारी नहुँदा महिलाका लागि बोझ बन्ने गरेको हो । घरायसी वातावरण गतिलो नहुनु, विद्यालयमा महिनावारी सम्बन्धी पर्याप्त जानकारी नदिइनुले पनि किशोरीलाई पिरोल्ने गरेको छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङद्वारा प्रवद्र्धन गरिएको लैङ्गिक हिंसा पुनस्र्थापना केन्द्र दाङद्वारा उत्पादन गरिएको सेनेटरी प्याड साबिक राप्ती क्षेत्रका विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड बितरण गरिने गरेको छ । दाङ लगायत रोल्पा, रुकुम, जाजरकोट जिल्लाका दुर्गम स्थानका विद्यार्थीलाई लक्षित गरि प्याड वितरण गरिएको हो । योगीका अनुसार भुकम्प प्रभाभित क्षेत्र रुकुम जाजरकोटमा गतसाल परिमाणमा प्याड बितरण गरिएको थियो भने यो वर्ष दाङ, रोल्पा, रुकुम पुर्ब लगायतका जिल्लाका बिभिन्न विद्यालयमा अध्ययनरत किशोरीलाई पुनः प्रयोग गर्न मिल्ने प्याड बितरण गरिएको छ । आवश्यकता प्राथमिकीकरण गर्दै प्याड वितरण गरिने छ । हरेक वर्ष वितरण गरिने प्याड यो वर्ष मात्रै करिब २ हजारभन्दा बढिलाई पुनः प्रयोग गर्न मिल्ने खालको वितरण गरिएको छ ।
को हुन विमला योगी ?
दाङ घोराही उपमहानगरपालिका १७ चौघेरामा जन्मेकी विमला योगी कुनै बेला स्थायी शिक्षक थिइन् । २०२५ सालमा जन्मेकी विमलाले समाजशास्त्र र अर्थशास्त्रमा एमएसम्म अध्ययन गरेकी छन् । उनले पढाउने समयमा स्कुल आउने धेरै बालबालिकासँग एक सरो मात्र कपडा हुन्थ्यो । विमलाले भनिन् ‘प्राय: कसैका खुट्टामा जुत्ता हुँदैनथ्यो । किताब, कापी र कलमको अभाव उस्तै ।’ शिक्षक भएपछि उनले समाज र शिक्षा धेरै कुरा बुझिन् । थोरै मान्छेले पढेर मात्रै समाज परिवर्तन हुँदैन भन्ने उनलाई लाग्यो ।
उनले धेरै सोचेपछि हरेक घरका आमाहरू आर्थिक रूपले सबल नहुदा सम्म समाज विकास हुदैन भन्ने बुझिन । केही समयपछि स्थायी शिक्षकबाट राजीनामा दिएर उनले आफ्नै यात्रामा ‘यू टर्न’ मारिन । महिलाको आर्थिक अवस्था सुधार गर्ने मुख्य उद्देश्यले २०५० सालमा ‘नेपाल महिला सामुदायिक सेवा केन्द्र’ नामको संस्था खोलिन । संस्थाले अधिकारसँगै शशक्तीकरण गर्दै जाँदा आर्थिक रुपान्तरणका लागि आफ्नै नेतृत्वमा ‘महिला सामुदायिक लघुवित्त बित्तीय संस्था २०६० सालमा’ पनि सुरु गरिन् । यो लघुबित्तको उद्देश्य महिलालाई आर्थिक रुपमा सबलीकरण गराउनु थियो ।
प्रकाशित: ९ पुस २०८२ १७:४३ बुधबार





