१८ मंसिर २०८२ बिहीबार
image/svg+xml १७:४९ अपराह्न
समाज

उदयपुर कारागारमा क्षमताभन्दा ५ गुणा बढी कैदी

उदयपुर कारागार भवन । तस्विरः महेश्वर

उदयपुर कारागार क्षमता भन्दा झण्डै ५ गुणा बढी कैदी बन्दी रहेका छन् । सदरमुकाम गाईघाट बोक्सेस्थित ४ दशकअघि निर्मित कारागार भवन वर्षौँ पुरानो र जीर्ण भईसकेको छ । तर, नयाँ भवनको अभावमा क्षमताभन्दा धेरै कैदी बन्दी राख्नुपर्ने बाध्यता कारागार प्रशासनलाई छ। ३८ सालमा निर्मित पुरानो प्रविधिको इँटा र माटो जडानको जीर्ण भवनको क्षमता ५० जनाको हो । तर, हाल त्यहाँ २ सय ४२ कैदी बन्दी राख्नु परेको कारागार प्रशासक (जेलर) उज्वल सुबेदीले बताए ।

उनका अनुसार अहिले रहेका कैदी बन्दीको संख्या भनेको कारागार क्षमताको झण्डै ५ गुणा बढी हो । हाल ७ महिला र १ सय ६० जना पुरुष गरी १ सय ६७कैदी सजाय भुक्तान गरिरहेका छन् । त्यस्तै ३ महिला र ७२ पुरुष गरी ७५ जना बन्दी (अदालतबाट पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएका) हरु कारागारमा छन् ।

उदयपुर कारागारमा २४ प्रकारका अपराधमध्ये १६ किसिमका कैदी बन्दी रहेका छन् । सबभन्दा बढी जबरजस्ती करणी र लागूऔषध आरोपमा सजाय पाउने रहेका छन् । जबरजस्ती करणीमा ७९ र लागूऔषधमा ७० जना कैदी बन्दी छन् । त्यस्तै कर्तव्य ज्यानका सजायरत रहनेको संख्या ३१ छ भने सवारी ज्यानमा १४ जनाले काराबास भोगिरहेका छन् ।

चोरीमा ११, ज्यान मार्ने उद्योग ७, ठगी ६, जबरजस्ती करणी उद्योग ४ जना सजायरत छन् । त्यस्तै जिउ मास्ने बेच्ने, अभद्र व्यवहार र वन पैदावार मुद्दाका ३–३ जना सजायरत रहेका छन् । बहुविवाह, डाँका, अपहरण तथा शरीर बन्धक, बैङ्किङ कसुर तथा दस्तखत किर्ते गर्नेहरू १–१ जनाले सजाय भोगिरहेको अभिलेख कारागार कार्यालयमा छ ।

सुबेदीले क्षमताभन्दा बढी कैदी बन्दी राख्नुपर्दा व्यवस्थापकीय समस्या धेरै झेल्नु परेको गुनासो गरे । जीर्ण र साँघुरो भवनमा अत्याधिक कैदी बन्दी खचाखच राख्नुपर्दा व्यवस्थापकीय समस्यादेखि सुरक्षा जोखिम पनि उत्तिकै रहेको उनले बताए । भिडभाडले गर्दा गर्मीको मौसममा रोगले  प्रकोपको रूप लेला कि भन्ने जोखिम पनि उत्तिकै रहेको उनको भनाई छ ।

कारागारलाई आवश्यक नयाँ भवन बनाउन नसक्दा जीर्ण भईसकेको भवनवर्षेनी टालटुल गर्दै काम चलाई राख्नु परेको उनले बताए । हुन त नयाँ भवन बनाउने खाँचो दशकअघि नै महसुस गरेर पटक पटक विभाग हुँदै मन्त्रालयमा माग गर्दै आएको कारागार प्रशासनले जनाएको छ । धेरै पटकको माग र विभागबाट आएको अनुगमन टोलीको निरीक्षणपछि नयाँ भवन निर्माणका लागि ५ वर्षअघि विभागले योजना स्वीकृत समेत गरेको थियो ।

स्वीकृतिपछि भवन बनाउन प्राविधिक इस्टीमेटसमेतको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरी पठाइए अनुसार बजेटसमेत विनियोजन भएको थियो । तर, बजेट विनियोजन भइसकेका बेला कोभिड महामारी आइपरेपछि अर्थ अभाव देखाउँदै विभागले भवन निर्माणको योजना त्यै बेला स्थगित गरेको सुबेदीले बताए ।

कोभिडले सेलाएको योजनालाई गत वर्ष ब्युँताएर फेरि भवन बनाउने माग विभागमा पठाइएको सुबेदीले बताए । उनका अनुसार गत वर्ष अर्को डिपिआर बनाएर सङ्घीय मन्त्रालयको योजना बैङ्कमा राखिएको छ । पछिल्लो डिपिआर बमोजिम १ हजार कैदी बन्दी राख्न मिल्ने कारागार र प्रशासनिक भवनसमेत गरी ३८ करोडको प्राविधिक इस्टीमेट योजना बैङ्कमा पाईपलाईनमा राखिएको हाकिम सुबेदीले बताएका छन् ।

पुरानो सदरमुकाम उदयपुर गढीबाट ०२९ सालमा गाईघाटसारिएपछि ०३८सालमा बनाइएको सो भवनमै हालसम्म कैदी बन्दीले सजाय भोग्दै आएका छन् । ऊ बेला आपराधिक घटना कम हुने, जनसङ्ख्या नै कम भएकाले ५० जना क्षमताको भवन बनाइएको ४ दशकसम्म नयाँ भवन नपाउनुले कारागार प्रशासन र कैदी बन्दी मारमा पर्नु परेको हो ।  

प्रकाशित: २९ श्रावण २०८२ १६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App