२० माघ २०८२ मंगलबार
image/svg+xml
समाज

युएईमा २६७ नेपालीलाई कैद माफी

युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशका कारागारमा रहेका २६७ नेपालीको कैद सजाय माफ गरिदिएको छ।

परराष्ट्र मन्त्रालयका प्रवत्ता लोकबहादुर पौडेलका अनुसार नेपालीको श्रमगन्तव्य मुलुक युएईले उसको ५४औं राष्ट्रिय दिवस (इद अल इतिहाद) का अवसरमा २६७ नेपालीको कैद माफ गरिदिएको हो।

‘त्यहाँको कानुन प्रक्रिया पूरा गरेर मात्र माफी पाएका ती नेपाली नेपाल फर्कनेछन्,’ उनले भने, ‘युएई सरकारले कारागारमा रहेका नेपालीलाई माफी दियो, त्यही हाम्रा लागि खुसीको कुरा हो।’

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी युएईले २६७ नेपालीको कैद सजाय उदारतापूर्वक माफी दिएकोमा कृतज्ञता व्यक्त गरेको छ।

‘माफीका लागि नेपाल सरकार युएई सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्छ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘मैत्रीपूर्ण सम्बन्ध र मानवीय नाताले २६७ नेपालीको कैद सजाय माफ गर्ने युएई सरकारको निर्णयलाई नेपालले उच्च मूल्यांकन गरेको छ।’ यसले नेपाल–युएई द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने विश्वास लिइएको छ।

परराष्ट्र मन्त्रालय अनुसार अबुधाबीस्थित नेपाली दूतावासले बारम्बार गरेको अनुरोधको सुनुवाइ गर्दै युएईले ती नेपालीको कैद सजाय माफीको निर्णय गरेको हो।

‘अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा प्रतिबन्ध नभएको अवस्थामा, माफी पाएका नेपाली युएईको प्रचलित कानुनद्वारा तोकिएबमोजिम आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्ने छन्,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १९ माघ २०८२ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App