उदयपुरमा दुई साताअघि भेटिएको बेवारिसे शव अझै सनाखत हुन सकेको छैन। मंसिर १३ गते बेलका नगरपालिका ४ स्थित सिसुवा खोला पुलमुनि भेटिएको बेवारिसे शवको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
नाम, थर, ठेगाना नखुलेकी एक महिलाको शव सिसुवा खोला पुलमुनि फेला परेको थियो। स्थानीयले मृत शरीर पुलमुनि भेटिएको खबर गरेपछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट टोली खटेर घटनास्थल सुरक्षित गरेको थियो। घटनास्थलको सर्जमिन मुचुल्का तयार गरी कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगिएको छ।
तर, यतिका दिन बित्दासम्म शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए। दुई साता बितिसक्दासम्म शवको सनाखत हुन नसकेपछि कानुनी प्रक्रिया पूरा गरेर सद्गत गर्ने तयारीमा प्रहरी पुग्नुपर्ने बाध्यतामा परेको उनको भनाइ छ।
कालो वर्णकी, कालो लामो कपाल भएकी मधेसी मूलकी अन्दाजी ५०/५५ वर्षकी महिलाको शव पुलमुनि फेला परेको प्रहरी भनाइ छ। मृत शरीरको हुलिया अगाडिका २ वटा दाँत नभएको, अन्दाज ४ फिट १० इन्च उचाइ भएको प्रहरीले जनाएको छ।
पहेंलो पृष्ठभूमिमा रातो हरियो पानबुट्टा भएको म्याक्सी लगाएकी, म्याक्सीभित्र रातो बुट्टेदार चोलो लगाएकी मृत शरीर विगतमा बजार क्षेत्रमा मागी खाई हिँड्ने गरेको केही स्थानीयले देखेको कुरा पनि सार्वजनिक भएको छ।
प्रहरीले यत्तिका दिनसम्म आफन्तको खोजी गर्दा नभेटेपछि कानुनी प्रक्रिया अपनाएर सद्गत गर्नेतर्फ कदम चाल्नुपर्ने अवस्थामा पुगेको जनाएको छ।
प्रकाशित: २९ मंसिर २०८२ ०७:१० सोमबार





