तिजको रमझम गाउँदेखि सहरसम्म थियो। चेलीबेटीहरू रमाइलो गरिरहेका थिए। यस्तोमा १६ वर्षीय रिना विक र १३ वर्षीय रोशनी थापा पनि चितवनबाट सिन्धुलीको इन्द्रावती गाउँपालिका वडा नम्बर ७ स्थित सितापोखरी घरमा जाने योजनामा थिए।
रोशनीले घर जाने अनुमति मागिन्। तर ‘दसैँमा जानु’ भनेर परिवारले जान दिएन। ‘तिजमा घर जाने भनेर भनेका रहिछन्, आमाले दसैँमा जाने भनेपछि सुत्न गएछन्,’ रोशनीकी फुपू तारा मकाजुले भनिन् ‘बिहान उठ्दा उनीहरू घरमा रहिनछन् ।’
रोशनी र रिना दिदी बहिनीका छोरी हुन्। कक्षा सातमा पढ्दै आएकी रोशनी २०७२ सालदेखि चितवनको भरतपुर महानगरपालिका–११ स्थित नहर चोकमा बस्दै आएकी थिइन्। रिनाको बसोबास भरतपुर महानगरपालिका–२ स्थित क्षेत्रपुरमा रहेको थियो। उनीहरू आफ्नो निर्णयमै अडिग भएझैँ लाग्छ। दुवै जना भदौ १०(मंगलबार) बिहान देखि परिवारको सम्पर्कमा छैनन्। अहिलेसम्म कोही आफन्तको सम्पर्कमा नरहेको मकाजुले बताइन् ।
दुई छोरी सम्पर्क विहीन भएपछि रोशनीका आमाले जिल्ला प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएकी छिन्। उनीहरूको मोबाइल फोनले दिएको अन्तिम संकेत काठमाडौंको बाफल क्षेत्रमा देखिएको छ। दुवैको मोबाइल खुल्ने र बन्द हुने समेत गरेको छ।
‘पहिलो दिन हिजो १२ः५६ मा मोबाइलको अन्तिम लोकेसन काठमाडौँको बाफल क्षेत्रमा थियो । त्यसपछि उनीहरूले मोबाइल बन्द गरेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले भने ‘फेरी आज बिहान ८ः३० बजेतिर मोबाइल खालेका छन् । त्यसको लोकेसन पनि ठाउँ वरिपरि नै देखाउँछ ।’
खोजी कार्यका लागि त्यस ठाउँमा प्रहरी परिचालन गरिएको उनले बताए। ‘हामीले काठमाडौँ महिला सेलमा पनि खबर पठाएका छौँ । अहिले परिवार सहित प्रहरी काठमाडौँ केन्द्रित भएर खोजी कार्य जारी राखेका छौँ,’ उनले भने ।
दुवैको कल डिटेलको अनुमतिका लागि प्रहरीले अदालतमा निवेदन पेस गरेको छ। दुवैलाई कोही कसैले कतै देखेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।
प्रकाशित: ११ भाद्र २०८२ १५:२० बुधबार




