४ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

अच्छा राई ‘रसिक’ प्रतिष्ठानबाट नागरिककर्मीसहित दुई जनालाई सम्मान

अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठान इटहरीले शनिबार दुई जनालाई सम्मान गरेको छ।

संस्थाको १३ औं साधारणसभाका अवसरमा नागरिककर्मी अमर खड्का र १२ वटा भाषामा गीत गाएर चर्चामा रहेकी अम्बिका दवाडी ढकाललाई सम्मान गरिएको हो। दुवैलाई इटहरी उपमहानगरपालिका उपप्रमुख संगीताकुमारी चौधरी र संस्थाका पूर्व अध्यक्ष लेखनाथ घिमिरेसहितले दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरे।

पत्रकार खड्का दुई दशकअघिदेखि पत्रकारितामा क्रियाशील छन्। अम्बिकाले राई, लिम्बु, मगर, मैथिली, भोजपुरी, चौधरीलगायतका १२ वटा भाषामा गीत गाउनुका साथै भजन पनि गाउँने गरेकी छन्।

अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठान इटहरीले बर्सेनि साहित्यिकसँगै समाजमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने गरेको छ। यसअघि साहित्यकार दिनेशकुमार थपलिया, बलरामप्रसाद पोखरेल र वम देवानलाई सम्मान गरेको थियो। 

इटहरीका पुराना स्वर्गीय कवि जीवी लुगुनको पहलमा स्थापना भएको साहित्यिक संस्थाबाट यसअघि नै कलाकार विक्रमश्री, साहित्यकार डा. नरेन्द्र चापागाईं, भाषाशास्त्री भानुभक्त पोखरेल, साहित्यकार भूपाल राई, साहित्यकार प्राध्यापक रामलाल अधिकारी, साहित्यकार शुभ मुकारुङ, पत्रकार प्रतिभा विवश राई, साहित्यकार उपेन्द्र पागल, साहित्यकार अनिल पौडेल, संगीतकर्मी सुरेश गन्धर्व, साहित्यकार ज्योति जंगल र साहित्यकार वियोग सापकोटालाई सम्मान गरी सकिएको छ।  

अच्छा राई ‘रसिक’ भारतीय नेपाली साहित्यकार हुन्। उनले दार्जिलिङमा बसेर नेपाली साहित्यको उत्थानमा विशेष योगदान दिएका थिए। उनका लगन र दोभान दुई वटा उपन्यास पुस्तक र कृतिका रूपमा प्रकाशित छन्। उनका निबन्ध, कथा, कविता र समालोचना पनि छन्।

१३ औं साधारणसभाका क्रममा इटहरी उपमहानगरपालिका उपप्रमुख संगीताकुमारी चौधरी, अच्छा राई ‘रसिक’ सहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष लेखनाथ घिमिरे, प्राध्यापक डाक्टर मोहन तुम्बाहाङ्, धरान उपमहानगरपालिकाका पूर्व मेयर तिलक राई, प्रतिष्ठानका अध्यक्ष केशव सुनाम, जगदीस सापकोटा, जीवनकुमार राईलगायतले बोलेका थिए। 

सोही क्रममा टेकबहादुर मोक्तान र सीता दाहालले कविता वाचन गरेका थिए। साधारणसभाबाट सांगठनिक र आर्थिक प्रतिवेदन समेत पास गरिएको छ।

प्रकाशित: ३० जेष्ठ २०८३ १७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App