भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना कामदार १० दिनपछि जीवितै बाहिर निस्किए। लामो समयदेखि परिवार, उद्धारकर्मी र सर्वसाधारणको मनमा एउटै प्रश्न थियो—सुरुङभित्र फसेकाहरू जीवित छन् कि छैनन् ?
दस दिनसम्मको प्रतीक्षा, अनिश्चितता र निराशाबीच आएको दुई जनाको जीवित उद्धारको खबरले अहिले आशाको नयाँ ढोका खोलिदिएको छ।
सुरुङबाट जीवितै उद्धार हुनेमा सप्तरीका ३२ वर्षीय मेकानिकल फोरम्यान सञ्जय साह र कीर्तिपुर पाँगाका मेकानिकल सुपरभाइजर कविर महर्जन छन्। बाढीको प्रभावपछि उनीहरू सुरुङभित्रै फसेका थिए।
उद्धार टोलीले आज बिहान उनीहरूलाई सुरुङबाट बाहिर निकाल्न सफल भएको हो। उद्धार गरिएका दुवै जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर विरेन्द्र सैनिक अस्पतालमा उपचारको लागि ल्याइएको छ।
यो केवल दुई व्यक्तिको उद्धारको घटना होइन। यो निराशाबीच आशा जीवित राख्ने, अन्तिम सम्भावनासम्म प्रयास गरिरहने र विपद्का बेला राज्य तथा उद्धार संयन्त्रले हार मान्न नहुने उदाहरणसमेत बनेको छ।सञ्जय साह र कविर महर्जन जीवितै भेटिएपछि सुरुङभित्र अझै अन्य व्यक्ति पनि जीवित हुन सक्ने आशा बढेको छ।
सुरुङभित्र अन्य व्यक्तिको आवाज सुनिएको जानकारीसमेत आएपछि उद्धार टोलीले खोजीलाई थप तीव्र बनाएको छ। १० दिनसम्म अँध्यारो र कठिन अवस्थामा रहेका दुई कामदार जीवित भेटिएपछि उद्धारमा संलग्न टोलीमा समेत नयाँ ऊर्जा थपिएको छ।
नेपालको यो उद्धार प्रयासलाई विश्वविख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ प्रा डा अर्नोल्ड डिक्सले समेत प्रशंसा गरेका छन्। डिक्सले सुरुङ आफैंमा एउटा इन्जिनियरिङ भएको भन्दै बाहिर ठूलो विपत्ति आए पनि सुरुङभित्र तुलनात्मक रूपमा स्थिर तापक्रम र श्वास फेर्न सकिने हावा हुने हुँदा सुरुङभित्र रहेका व्यक्तिको जीवन समाप्त भइसकेको निष्कर्षमा पुग्नु उचित नहुने बताएका थिए।
सामाजिक सञ्जाल लिंकेडइनमा डिक्सले आकस्मिक अवस्थामा हातले सुरुङ खनेर जलविद्युत् आयोजनाका कामदारलाई जीवितै उद्धार गरिएको घटनाको प्रशंसा गरेका छन्। नेपालमा भएको उद्धारले आफूले विगतका केही ठूला सुरुङ तथा भूमिगत उद्धार घटनाबाट सिकेको कुरा पुनः प्रमाणित गरेको उनको भनाइ छ।
सुरुङ तथा भूमिगत उद्धारमा विगतमा पनि उपलब्धिहरु भएका छन्। जसको कारण नेपालको सुरुङ उद्धारमा थप आशा पलाएको हो। सन् २०१० मा चिलीको सान होसे खानीमा ३३ जना खानी मजदुर ६९ दिनसम्म भूमिगत फसेका थिए। उनीहरूमध्ये पहिलो १७ दिनसम्म बाहिरी संसारसँग कुनै सम्पर्क हुन सकेको थिएन। तर सबै ३३ जनालाई पछि जीवितै उद्धार गरिएको थियो।
त्यसैगरी सन् २०१८ मा थाइल्यान्डको थाम लुङ गुफामा १२ बालक र उनीहरूका प्रशिक्षक फसे। नौ दिनपछि उनीहरू जीवित फेला परे र जटिल उद्धार अभियानमार्फत सबैलाई बाहिर निकालिएको थियो। सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा ४१ जना कामदार सुरुङभित्र फसेका थिए । उनीहरूलाई १७ दिनपछि जीवितै बाहिर निकालिएको थियो।
भोटेकोशी बाढीले रसुवा, नुवाकोटलगायत क्षेत्रमा ठूलो जनधनको क्षति गराउँदा जलविद्युत् आयोजना पनि प्रभावित भएका छन्। बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र कामदारहरू फसेका थिए।
सञ्जय र कविरको जीवित उद्धारले केवल उनीहरूका परिवारलाई मात्र राहत दिएको छैन, सुरुङभित्र रहेका अन्य व्यक्तिका परिवारमा पनि आशा जगाएको छ। सञ्जय साह र कविर महर्जनलाई १० दिनपछि जीवितै बाहिर निकालिनु विपद् व्यवस्थापनका लागि पनि महत्त्वपूर्ण सिकाइ समेत हो।
प्रकाशित: १९ भाद्र २०८३ १२:३७ शुक्रबार


-600x400.jpg)


