लमजुङको मर्स्याङ्दी गाउँपालिका–६, नाइचेस्थित भित्र सडक खण्डमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
शुक्रवार राति करिब ११ः३० बजेको समयमा खुँदिबाट नाइचेस्थित हिँडिखोला जलविद्युत परियोजनाका लागि सिमेन्ट लिएर जाँदै गरेको बा.८च ३७३१ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ८०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे जानकारी प्राप्त भएपछि बाहुनडाँडा र खुँदी प्रहरी चौकीका टोलीले घटनास्थल पुगेर घाइतेको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाएको थियो। उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीले जानकारी दिए।
मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिका–४ का ३० वर्षीय चालक विनोद खड्का र सोही जीपमा सवार २५ वर्षीय पारस खड्का रहेका छन्। दुर्घटनामा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बु सकुशल रहेका छन्।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २२ कार्तिक २०८२ ०८:०२ शनिबार





