त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडान हुँदै बैंककबाट काठमाडौं आएका रञ्जितलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला परेपछि पक्राउ गरेको हो।
सोही लागूऔषध संकलन गर्न आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।
प्रकाशित: ७ पुस २०८२ ०६:३४ सोमबार





