उदयपुरको कटारीमा कालो बजारी गरेर ल्याइएको मल प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय किसानका लागि सहकारीमार्फत आएको २ सय बोरा कालोबजारी गरि अन्यत्र लादै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
स्थानीय दुर्गा भवानी सहकारी संस्था लिमिटेड कटारीले किसानका लागि भनेर सरकारी सुविधामा ल्याएको युरिया मल कालोबजारी गरिछिमेकी जिल्ला सिन्धुलीको दुधौलीतर्फ लाँदै गरेको अवस्थामा बिहीबार राति दुधौली प्रहरीले नियन्त्रणमा लिएको हो । कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठका अनुसार सो मल दुधौलीका एक व्यापारीका लागि लादै गर्दा नियन्त्रणमा परेको हो।
सो सहकारीका सञ्चालक पेशल भट्टराई र हिरा बास्तोला रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सहकारीले कटारी नगरबासी किसानका लागि अनुदानमा ल्याएको युरिया मल कालोबजारी गरेर दुधौली पठाइरहेको सूचनाको आधारमा किसान संघर्ष समितिले प्रहरीलाई खवर गरेको थियो । समितिका संयोजक गणेश थापासहितको टोलीले कटारीको मल सिन्धुली लाँदै गरेको अवस्थामा फेला पारेर प्रहरी बोलाई जिम्मा लगाएको हो ।
मेयर श्रेष्ठले संघर्ष समितिको पहलमा कालोबजारी भईरहेको नगरबासीका लागि आएको अनुदानको मलनियन्त्रणमा लिन सफल भएको बताए । उनले यस्तो अनुदानको मल अर्को जिल्ला बेचेर अनियमितता र कालोबजारी गर्ने सहकारीमाथि आवशयक कानुनी कारबाही गर्ने तयारी भईरहेको पनि बताएका छन् ।
नगरबासी किसानहरु मलको चरम अभाव झेलिरहेको अवस्थामा सुविधामा आएको मल कालोबजारी गर्नु गम्भीर गैरकानुनी र दण्डनीय भएको मेयर श्रेष्ठले बताए । गतवर्ष पनि एक सहकारीले अनुदानको मल स्थानीय व्यापारीलाई बेचेको अवस्थामा गोदनाममा छापा मारेर नियन्त्रणमा लिएको थियो ।
प्रकाशित: १६ माघ २०८२ १६:०२ शुक्रबार





