१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
समाज

माटोको ढिस्कोमा पुरिएर दुईको मृत्यु, छ घाइते

सिम्रौनगढ नगरपालिकामा माटोको ढिस्कोमा पुरिएर शनिबार बिहान दुई जनाको मृत्यु भएको छ। जानकारी अनुसार छ जना घाइते भएका छन्।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका ६ सानो इटवाल बस्ने दशरथ महतोको श्रीमती अन्दाजी ७० वर्षीय शारदा देवी महतो र सिम्रौनगढ नगरपालिका ५ सानो इटवाल टोलका राजेश्वर महतोको छोरा अन्दाजी १५ वर्षीय निरहुवा भन्ने सुनिल महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजय पण्डितले बताए।

तिहार र छठ पर्वको लागि माटोबाट बनेको घर लिपपोत गर्न सिम्रौनगढ नगरपालिका ६ मा रहेको पानी ट्याकी नजिकै रहेको इशरा पोखरीको डिलबाट माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर उनीहरु गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका उनीहरुलाई उद्धार गरेर कलैया स्थित प्रादेशिक अस्पतालमा पुर्‍याउँदा डाक्टरले दुवै जनालाई मृत घोषणा गरेको प्रवक्ता पण्डितले बताए।  

इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराका अनुसार शनिबार बिहान अन्दाजी ८:५० बजे सिम्रौनगढ नगरपालिका वडा नं. ६ पानी ट्याङ्की नजिक रहेको इशरा पोखरीको डिलमा घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्को खसेको थियो।  

घटनामा घाइते हुनेहरुमा सिम्रौनगढ कंकाली अस्पतालमा उपचाररत सिम्रौनगढ न.पा. ६ सानो इटवालका १४ वर्षीय साजन महतो, सिम्रौनगढ न.पा. ५ सानो इटवालका १५ वर्षीय नितेश महतो र सिम्रौनगढ न.पा. ५ सानो इटवालकी १४ वर्षीय रानी कुमारी महतो छन्।  

रानी कुमारी महतोको बायाँ हात भाँचिएको र अवस्था मध्यम रहेको छ भने बाँकीको हातखुट्टा तथा टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। यस्तै, प्रादेशिक अस्पताल कलैयामा सिम्रौनगढ न.पा. ६ अमरपुरका १८ वर्षीय गौतम मुखियाको उपचार भइरहेको छ भने सिम्रौनगढ धर्मनगर अस्पतालमा सिम्रौनगढ न.पा. ५ सानो इटवालकी १४ वर्षीय सुशिला कुमारी महतो र १५ वर्षीय राजा बाबु शर्माको उपचार भइरहेको छ, जसमा राजा बाबु शर्माको ढाड र कम्मरमा चोट लागेको छ।  

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक पवन पछाईको कमान्डमा १४ जना र सशस्त्र प्रहरी बेस सिम्रौनगढबाट स.प्र.स.नि.को कमान्डमा ७ जनाको टोली उद्धारका लागि खटिएको थियो। 

तराई मधेशमा पर्वहरु नजिकिँदै गर्दा घर लिपपोतका लागि खेत र पोखरीबाट माटो ल्याउने प्रचलन रहेको छ। मृतकको प्रादेशिक अस्पताल कलैयामा शल्यक्रिया भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ आश्विन २०८२ १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App