लमजुङ प्रहरीले रोकिराखेको गाडीबाट नगद तथा मोबाइलसहितको झोला चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
बेसिशहर नगरपालिका-३, चण्डीस्थित सडक किनारमा रोकिएको गाडीबाट चोरी भएको नगद ५२ हजार ५ सय रुपैयाँ, दुई थान मोबाइल र महत्त्वपूर्ण कागजातसहित उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार, पीडितले आफ्नो गाडी सडक किनारमा रोकेर अन्य काममा व्यस्त भएको मौकामा चोरहरूले गाडीभित्र रहेको झोला चोरेका थिए। उक्त झोलामा नगद, मोबाइल फोन, नागरिकता लगायतका महत्त्वपूर्ण कागजातहरू रहेका थिए।
चोरीको उजुरी प्राप्त हुनासाथ प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा चोरीमा संलग्न दुई जनालाई चोरी भएका सामानसहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले बरामद गरिएका सम्पूर्ण सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित धनीलाई बुझाइसकेको छ।
साथै, प्रहरीले यात्राका क्रममा आफ्ना नगद तथा बहुमूल्य सामानको सुरक्षामा विशेष ध्यान दिन सर्वसाधारणलाई अनुरोध गरेको छ। गाडी रोकेर बाहिर निस्कँदा वा यात्रा गर्दा सचेत रहन आग्रह गरेको छ।
प्रकाशित: १७ आश्विन २०८२ १८:२७ शुक्रबार





