मकवानपुरको मनहरीमा आइतबार दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार एक महिला गम्भीर घाइते भएकी छिन्।
प्रहरीका अनुसार, दिउँसो करिब २:३० बजे मनहरी गाउँपालिका–७, रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०३-०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा परी स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका–११ निवासी अन्दाजी ५१/५२ वर्षीय मोतिबहादुर क्षेत्री गम्भीर घाइते भएका थिए।
उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा उपचारकै क्रममा दिउँसो ३:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव हाल हेटौँडा अस्पतालमा राखिएको छ।
स्कुटरको पछाडि सवार चितवन भरतपुर–९, सरदपुरकी अन्दाजी ३६/३७ वर्षीया नरमाया गुरूङ गम्भीर घाइते भएकी छिन्।
उनको दाहिने खुट्टा, हात, टाउको र अनुहारमा चोट लागेको छ। घाइते गुरुङको अवस्था गम्भीर तर सामान्य बोल्न सक्ने रहेको र उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा खटिएको टोलीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाइन नगरपालिका–२ का ३५ वर्षीय अशोक यादव रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: ११ श्रावण २०८२ १७:२५ आइतबार





