मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवास्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना हुँदा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान करिब ५:०० बजे बिरगंजबाट काठमाडौंतर्फ औषधि बोकेर जाँदै गरेको ना ३ ख ३१९२ नम्बरको ट्रक ब्रेक फेल भएर अनियन्त्रित भई सडकमै पल्टिएको थियो।
दुर्घटनाबारे जानकारी पाउनासाथ प्रहरी नायब निरीक्षक रमाकान्तप्रसाद यादवको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटना स्थलतर्फ खटिएको थियो।
प्रहरीका अनुसार ट्रक चालक बारा, जीतपुर–सिमरा उपमहानगरपालिका–१ का ४० वर्षीय बिनोद माझी सकुशल रहेको र उनी प्रहरी सम्पर्कमा रहेका छन्।
ट्रक सडकमै पल्टिएर अड्किएको हुँदा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। हाल सडक खुलाउनका लागि ट्रक हटाउने कार्य भइरहेको छ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ८ किलोमिटर उत्तर पर्छ। घटनास्थलमा थप प्रहरी टोली समेत परिचालन गरिएको छ।
प्रकाशित: ६ मंसिर २०८२ ०६:५२ शनिबार





