देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) को लाइटिङ प्रणालीमा प्राविधिक समस्या आएपछि शनिबार साँझदेखि सम्पूर्ण उडान तथा अवतरण ठप्प भएको छ।
साँझ करिब साढे ५ बजेदेखि सुरु भएको समस्याका कारण तीनवटा अन्तर्राष्ट्रिय जहाजलाई भारत र बंगलादेशतर्फ डाइभर्ट गरिएको छ भने दर्जनौं आन्तरिक उडानहरू रोकिएका छन्।
विमानस्थलको ‘एयरफिल्ड लाइटिङ सिस्टम’ मा खराबी आएपछि रात्रिकालीन उडान-अवतरण असम्भव बनेको हो। यो प्रणालीमा रनवेलाई राति उज्यालो बनाउन प्रयोग हुने सेन्टरलाइन, छेउछाउका बत्तीहरू तथा विमानलाई अवतरणमा सहजीकरण गर्ने ‘एप्रोच लाइट’ हरू पर्दछन्।
लाइटिङ प्रणालीमा आएको खराबीले अन्तर्राष्ट्रिय उडानहरू सबैभन्दा बढी प्रभावित भएका छन्। काठमाडौंमा अवतरण गर्न नसकेपछि कोरियाबाट आएको कोरियन एयर को जहाजलाई भारतको नयाँ दिल्ली डाइभर्ट गरिएको छ।
त्यसैगरी, फ्लाई दुबईको जहाज भारतकै लखनउमा अवतरण गराइएको छ भने दोहाबाट आएको कतार एयरवेज को जहाजले काठमाडौंको आकाशमा झन्डै दुई दर्जन पटक फन्को मारेपछि बंगलादेशको ढाका डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ।
समस्या समाधान नहुँदासम्म दिल्लीबाट आएको नेपाल वायुसेवा निगमको जहाज पनि केही समय आकाशमै होल्ड भएको थियो।
समस्याका कारण रात्रिकालीन आन्तरिक उडानहरू पूर्ण रूपमा प्रभावित भएका छन्। यति एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सका मात्र एक दर्जनभन्दा धेरै उडानहरू रद्द भइसकेका छन्।
बुद्ध एयरको जनकपुरबाट काठमाडौं आएको जहाज पुनः जनकपुर नै फर्किएको थियो भने सुर्खेतबाट आएको अर्को जहाज पोखरामा अवतरण गराइएको थियो।
उडान रद्द र अनिश्चितताका कारण विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनलमा सयौं यात्रु अलपत्र परेका छन्।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्राविधिक टोलीले साँझदेखि नै निरन्तर रूपमा समस्या समाधानको प्रयास गरिरहेको छ। तर, समस्या जटिल भएकाले समाधान हुन सकेको छैन।
विमानस्थलले राति ९ बजेसम्मका लागि ‘नोटाम’ (नोटिस टु एयरमेन) जारी गर्दै उडान-अवतरण नहुने सूचना जारी गरेको छ। तर, मर्मत कार्यले अझै समय लिन सक्ने देखिएकाले विमानस्थल सञ्चालनमा आउन कति समय लाग्छ भन्ने यकिन नभएको उनले बताए।
प्रकाशित: २२ कार्तिक २०८२ २१:११ शनिबार





