पर्यटन व्यवसायी विजय केसी यति बेला अन्नपूर्ण आधार शिविर (एबिसी) क्षेत्रको पदयात्रामा छन्। उनीसँग सात जना विदेशी पाहुनाको समूह छ।
पाहुनालाई एबिसी उकाल्दै गरेका केसीका अनुसार अहिले अन्नपूर्ण आधार शिविर क्षेत्रमा विदेशी पदयात्रीको भिडभाड छ। खुलेको र सफा मौसमसँग हिमालको दृश्यावलोकन गर्दै विदेशीको भीडले आधार शिविरतर्फ पाइला चालिरहेको छ।
त्यही भीडमा केसीको समूह पनि छ। झट्ट हेर्दा तत्कालै मौसम बिग्रने संकेत कतै छैन। खुलेको आकाश र टलक्क टल्केको हिमालले सबैको ध्यान हिमाल तिरै तानेको छ।
तर पनि सरकारले जारी गरेको मौसमी बुलेटिन अनुसार बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रबातको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम रहेको र बिहीबार बेलुकीदेखि शनिबारसम्म यो प्रणालीको प्रभाव रहने प्रारम्भिक पूवानुमानसँगै पदयात्रामा रहेका विदेशी केही झस्केका पनि छन्।
‘अहिलेको अवस्था हेर्दा तत्काल मौसमी अवस्था बिग्रने केही संकेत देखिएको छैन। तर पनि सरकारले सचेत बनाएकोले बेलैमा सुरक्षित भने हुनु पर्नेछ,’ केसीले भने, ‘अहिले त निकै नै खुलेको मौसम छ । पर्यटक पनि पदयात्राका क्रममा रमाएका छन्। तर, मौसम बिग्रेर आफूहरूको पदयात्रा बिथोलिने पो हो की भन्ने त्रास पनि पाहुनामा छ।’
केसीले पनि आफ्नो समूहका पाहुनालाई नेपालको मौसमी अवस्थाबारे जानकारी दिएका छन्।
‘पाहुनाले बुधबार बेलुकीसम्म आधार शिविर पुग्ने र बिहीबार बिहानै फर्किन सकियो भने सुरक्षित पदयात्रा हुने ठानेका छन्। फर्किदा अलि छिटो गरी झर्नुपर्ने हुनसक्छ,’ केसीले भने, ‘त्यही अनुसार पाहुनाले मानसिकता बनाएका छन्। बुधबारसम्म नेपालमा कुनै समस्या नपर्ने र बिहीबारदेखि मात्र प्रभाव देखिने भएकोले त्यसअघि नै आधार शिविर पुगेर फर्किने योजना छ।’
सरकारले भने झैँ मौसममा गडबडी भइहाल्यो भने यात्रा अवधि छोटिन पनि सक्ने उनले बताए।
नेपाल मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको बताएको छ।
उक्त प्रणालीले पर्याप्त जलवाष्प बोकेर ल्याउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले नेपालमा वर्षा गराउने अवस्था सिर्जना भएको विभागले बताएको छ।
विभागका अनुसार चक्रवातको प्रभाव बिहीबार बेलुकादेखि शनिवारसम्म रहनेछ, यद्यपि यसको गति र तीव्रता अनुसार वर्षाको मात्रा परिवर्तन हुन सक्ने पनि विभागको भनाई छ।
‘अहिले नै आतंकित हुनुपर्ने अवस्था नभए पनि जोखिमयुक्त क्षेत्रमा पूर्वसावधानी अपनाउनुपर्ने भएकोले सचेत भने हुनैपर्छ,’ केसीले भने।
विभागले पनि पदयात्रामा रहेका पर्यटकलाई बेलैमा सुरक्षित स्थानमा पुग्न अनुरोध गरिसकेको छ। त्यस्तै पहिरोको जोखिम भएका सडकमा सतर्क रहनुपर्ने तथा किसानलाई मौसम सूचना हेरेर मात्र धान काट्न सुझाव दिएको छ।
केसीका अनुसार विभागको मौसमी सूचनापछि एबिसी रुटको पदयात्रामा रहेका कतिपय विदेशी पर्यटकले बिचबाटै पदयात्रा त्यागेर फर्केका पनि छन्।
केसीले एबिसीको पदयात्रामा रहेका विदेशी पर्यटकको तीन वटा समूह बिचबाटै फर्केको भेटेका थिए। उनका अनुसार सिनुवा, छोमरोङ र दोभानबाट ती समूह फर्केका हुन्।
जर्मन, स्पेन लगायतका मूलका ती पाहुना मध्ये केही टाढा पानी र केहीले घान्द्रुक क्षेत्रमै रहने भनेर फर्केको उनले बताए। तीन वटा समूहमा करिब ३० जना पाहुना रहेको पनि केसीले बताए।
‘मौसमी सूचना थाहा पाएपछि उनीहरूले बिचबाटै पदयात्रा त्यागेका हुन्। एबिसीको गन्तव्यमा रहेका उनीहरू आधा बाटोबाट फर्केका छन्,’ केसीले भने।
यो बेला पदयात्रा क्षेत्रमा पर्यटकको बाक्लो भिडभाड रहेको छ। बाढी पहिरोले अन्नपूर्ण क्षेत्रका अन्य भागमा यो पटक अप्ठेरो निम्त्याएकाले ती क्षेत्रमा भन्दा आधार शिविर क्षेत्रमा यो पटक पदयात्रीको बाक्लो भीड रहेको छ।
‘अहिले पनि दिनमा ३ सय देखि ३ सय ५० जना जति पाहुना उक्लिरहेका छन्,’ छोमरोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगन गुरुङ भन्छन्, ‘अहिलेसम्मको अवस्था हेर्दा मौसमी विवरण सबै ठिक छ। तर, सरकारले भनेकोले बेलैमा सचेत पनि हुनुपर्नेछ।’
बसाई अवधि छोट्याएर छिटोगरि बजारसम्म फर्किने चाहना धेरै पाहुनाको रहेको उनले पनि बताए।
‘बेलैमा सुरक्षित ठाउँमा पुग्नुपर्छ भन्ने उनीहरूको भनाई छ,’ उनले भने, ‘यो बेला पदयात्रामा पाहुनाको भिडभाड राम्रो थियो। आन्तरिक भन्दा पनि भारतीय र तेस्रो मुलुकका पाहुना बढी छन्। तर, यही बेला मौसमी चुनौती थपिएकोले बेलैमा सचेत भने हुनुपर्ने अवस्था छ।’ मौसम हेर्दै उकालो लाग्ने पाहुना धेरै रहेको उनले सुनाए।
अध्यक्ष गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग समन्वय गरेर पदयात्रामा पाहुना पठाउने वा रोक्ने भन्ने निर्णय हुने बताए।
‘अहिले नै रोक्नुपर्ने अवस्था त छैन, यतिखेरको मौसमी सुन्दरताले तत्कालै बिग्रने संकेत दिँदैन। तर पनि बेलैमा सचेत भने हुनुपर्नेछ। बिहीबारदेखि मात्र मौसम बिग्रने भनेकोले अहिले नै हतार नभए पनि सचेत भने हुनुपर्ने छ,’ उनले भने, ‘बुधबार र बिहीबारको मौसम हेरेर मात्र के गर्ने भन्ने यकिन हुन्छ। अहिले नै हतार गर्न जरुरी छैन।’
नेपालको मौसमी अवस्था बिग्रने भन्ने बारेमा अधिकांश विदेशी पाहुना पनि जानकार रहेको अध्यक्ष गुरुङको भनाई छ।
‘हामीलाई मात्र नभई पदयात्रामा रहेका विदेशी पाहुना पनि यसबारेमा जानकार छन्। उनीहरूले पनि मौसमी अवस्थाबारे आकलन गरिरहेका छन्,’ उनले भने।
एक्यापका प्रमुख रबिन कडरियाका अनुसार सरकारले मौसमी विवरणबारे जानकारी गराएको भए पनि अहिलेसम्मका लागि पदयात्रामा कुनै पनि प्रकारको रोकावट गरिएको छैन। तर, अवस्था बिग्रँदै गएमा भने पदयात्रामा रोक लगाउन सकिने बताए।
पदमार्गका विभिन्न ठाउँमा रहेका चेकपोस्टलाई यसबारेमा जानकारी गराएको उनले बताए।
‘अहिले नै हामीले कुनै किसिमको रोकावट गरेका छैनौ। अहिलेसम्मको मौसम ठिक पनि रहेको छ। तर, विभागले भने झैँ मौसम बिग्रने अवस्था सिर्जना भएमा एक्यापले पदयात्रामा रोक लगाउन सक्छ,’ कडरियाले भने, ‘पर्ख र हेरको अवस्थामा हामी रहेका छौँ।’
यो बेला पदयात्रा क्षेत्रमा पर्याप्त पर्यटक रहेको र उनीहरूको सुरक्षित पदयात्राबारेमा एक्याप सचेत रहेको प्रमुख कडरियाले बताए।
प्रकाशित: १० कार्तिक २०८३ १७:१६ मंगलबार




-600x400.jpg)
