नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले चाडपर्वका बेला सार्वजनिक यातायातका सवारीसाधनलाई बाटोमा पटक–पटक जाँचका नाममा रोक्ने व्यवस्था हटाएर निश्चित स्थानमा प्रभावकारी जाँच गरी गन्तव्यसम्म सहज रूपमा पुग्ने वातावरण बनाउन आग्रह गरेका छन् ।
विजयादशमी, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित सार्वजनिक यातायात व्यवस्थापन तथा काठमाडौं उपत्यकाबाट बाहिरिने र बाहिरी जिल्लाबाट काठमाडौं भित्रिने यात्रुलाई सहज र सुरक्षित बनाउने विषयमा सोमबार आयोजित छलफलमा सिटौलाले यस्तो आग्रह गरेका हुन् ।
उनले सवारीसाधन छुट्ने स्थानमै यात्रु संख्या, आवश्यक कागजात र अन्य विवरण जाँच गरी सिल गरेर पठाउने र बाटोमा शंकास्पद अवस्थामा मात्रै आवश्यकताअनुसार जाँच गर्ने व्यवस्था गर्नुपर्ने बताए ।
‘विराटनगरबाट काठमाडौं हिँड्ने गाडी विराटनगरमै पूर्ण रूपमा जाँच गरेर यात्रु संख्या यकिन गरी सिल गरौँ । आवश्यक परे इटहरी वा धरानमा जाँच गरौँ । त्यसपछि शंका लागे मात्रै अन्य ठाउँमा रोकौँ । बाटैपिच्छे किन रोक्नुपर्यो ?’ उनले भने ।
सिटौलाले यात्रुवाहक बसका चालक तथा कर्मचारीको अवस्थालाई समेत ध्यानमा राखेर यातायात सञ्चालनमा सहजीकरण गर्नुपर्ने बताए । लामो दूरीका सवारीसाधनलाई पटक–पटक रोक्दा यात्रुको समय खेर जाने मात्र नभई चालक तथा कर्मचारीमाथि समेत अतिरिक्त दबाब पर्ने उनको भनाइ छ ।
‘पोखराबाट आएको गाडी पोखरामै जाँच गरेपछि नौडाँडा, कोटडाँडा, कुरिनटार, नागढुंगा र नौबिसेलगायतका ठाउँमा फेरि–फेरि किन जाँच गर्नुपर्यो ?’ उनले प्रश्न गरे ।
धनगढी, पोखरा र विराटनगरलगायतका प्रमुख स्थानबाट छुट्ने सवारीसाधनलाई सम्बन्धित स्थानमै यात्रु संख्या र आवश्यक कागजात जाँच गरी सिल गरेर पठाउनुपर्ने उनले बताए । यसरी पठाइएका सवारीसाधनलाई बाटोमा शंकास्पद अवस्था देखिएमा मात्र थप जाँच गर्न सकिने उनको भनाइ छ।
सिटौलाले चाडपर्वमा टिकट वितरण गरे पनि सवारीसाधन समयमै गन्तव्यतर्फ जान नसके त्यसको प्रत्यक्ष असर यात्रु, व्यवसायी र कर्मचारी सबैलाई पर्ने बताए । यातायात सञ्चालनमा अनावश्यक अवरोध नगर्न सम्बन्धित निकायलाई उनले आग्रह गरे ।
यसैगरी, देशभर बाढीपहिरोका कारण सडकको अवस्था चुनौतीपूर्ण रहेकाले चाडपर्वअघि सडकका खाल्डाखुल्डी पुर्ने, जोखिमयुक्त स्थानमा आवश्यक व्यवस्थापन गर्ने र यात्रालाई सहज बनाउनेतर्फ तत्काल ध्यान दिनुपर्ने उनले बताए ।
दुर्घटना न्यूनीकरणमा संयुक्त संयन्त्र बनाइने
प्रहरी प्रधान कार्यालय राजमार्ग तथा सुरक्षा महाशाखाका एसपी राजेन्द्र श्रेष्ठले चाडपर्वका समयमा दुर्घटना न्यूनीकरण तथा सवारी व्यवस्थापनका लागि देशभरका जिल्ला प्रहरी, ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी योजना कार्यान्वयन गर्न लागिएको बताए ।
उनका अनुसार चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण तथा सुरक्षा योजना तयार गर्न भदौमै देशभर परिपत्र गरिएको थियो । गत वर्ष विजयादशमीदेखि छठसम्मको अवधिमा देशभर ३ हजार ४८७ वटा सवारी दुर्घटना हुँदा २९४ जनाको मृत्यु भएको उनले जानकारी दिए ।
यस वर्ष उक्त संख्या घटाउने लक्ष्यसहित दुर्घटना न्यूनीकरणका योजना अघि बढाइने श्रेष्ठले बताए । दुर्घटना रोकथामका लागि केन्द्रबाट मात्रै नभई स्थानीय र फिल्ड तहमा समेत प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ ।
‘फिल्डमा ट्राफिक प्रहरी हुन्छ । तर सडक, यातायात, प्रशासन र स्थानीय तहसँग सम्बन्धित धेरै समस्या र गुनासो ट्राफिक प्रहरीमार्फत आउने गरेको छ,’ श्रेष्ठले भने, ‘त्यसैले सबै निकायलाई समेटेर संयुक्त संयन्त्र बनाएर फिल्डमा परिचालन गर्न आवश्यक छ ।’
उनले सडक विभाग, यातायात व्यवस्था कार्यालय, स्थानीय तह, जिल्ला प्रशासन, निजी क्षेत्र तथा यातायात व्यवसायीलाई समेटेर संयुक्त संयन्त्र निर्माण गरी दुर्घटना न्यूनीकरण तथा सवारी व्यवस्थापनमा परिचालन गरिने बताए ।
श्रेष्ठका अनुसार पहिलो चरणमा प्रत्येक जिल्लाले दुर्घटना न्यूनीकरण तथा चाडपर्वको सवारी व्यवस्थापनका लागि सुधार गर्नुपर्ने सडक तथा अन्य जोखिमयुक्त क्षेत्र पहिचान गरी योजना बनाउनेछ । दोस्रो चरणमा सम्बन्धित सरोकारवाला निकायबीच छलफल गरी निर्णय र प्रतिबद्धता गरिने तथा त्यसपछि चरणबद्ध रूपमा योजना कार्यान्वयन गरिनेछ ।
रुट परमिटको व्यवस्थामा पुनरावलोकन आवश्यक
श्रेष्ठले अन्तरप्रदेशीय रुट परमिटको व्यवस्थामा समेत अध्ययन र पुनरावलोकन आवश्यक रहेको बताए । रुट परमिटको स्पष्ट व्यवस्थापन नहुँदा कमजोर सडक खण्डमा समेत ठूला सवारीसाधन सञ्चालन हुने गरेको उनको भनाइ छ ।
कुन सडकमा कुन प्रकारका सवारीसाधन सञ्चालन गर्न दिने र कुन सडकमा प्रतिबन्ध लगाउने भन्ने विषयमा अध्ययन आवश्यक रहेको उनले बताए ।
उनले भने, ‘कुन रुट खुला गर्ने, कुन रुटमा बन्देज लगाउने र कुन सडकमा कस्ता सवारीसाधन सञ्चालन गर्न दिने भन्ने विषयमा अध्ययन आवश्यक छ । यसले पनि दुर्घटना न्यूनीकरणमा सहयोग गर्छ ।’
प्रकाशित: ५ आश्विन २०८३ १९:२४ सोमबार





