२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

ट्राफिक प्रहरीको छड्के: बढी धुवाँ फाल्ने ३२ सवारी कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार राजधानीका दुई छुट्टाछुट्टै स्थानमा गरेको विशेष चेकिङका क्रममा ३२ वटा सवारीसाधनलाई कारबाही गरेको छ।

यान्त्रिक अवस्था दुरुस्त नभएका र मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधनका चालकहरूलाई ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याएको हो।

काठमाडौंको त्रिभुवन विश्वविद्यालय (टीयू) गेट नजिकै गरिएको चेकिङमा यान्त्रिक अवस्था ठीक नभएका १९ वटा सवारीसाधन कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीको टोलीले उक्त स्थानमा ६० वटा सवारीसाधन चेकजाँच गरेको थियो। त्यसक्रममा हेन्डब्रेक दुरुस्त नभएका, लाइटहरू नबल्ने र टायर धेरै खिइएका गाडीहरू फेला परेको प्रहरीले बताएको छ।

अवस्था ठीक नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको सम्भावना उच्च रहने र यात्रु तथा सडक प्रयोगकर्ताको ज्यान जोखिममा पर्ने भएकाले उक्त चेकिङ गरिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले नियमित रूपमा आफ्नो सवारीसाधनको अवस्था जाँच र मर्मतसम्भार गरेर मात्रै चलाउन सम्पूर्ण यातायात व्यवसायी, सवारीधनी र चालकलाई अनुरोध गरेका छन्।

यसैगरी, मंगलबार नै थानकोटस्थित त्रिभुवन पार्क नजिक गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १३ वटा सवारीसाधन कारबाहीमा परेका छन्।

वातावरण व्यवस्थापन विभाग, चन्द्रागिरि नगरपालिका र ट्राफिक प्रहरी प्रभाग थानकोटको संयुक्त टोलीले सो क्षेत्रमा प्रदूषण जाँच गरेको थियो।

चेकिङका क्रममा कालो धुवाँको मुस्लो फाल्दै गुडेका सवारीसाधनलाई टोलीले नियन्त्रणमा लिएर कारबाही गरेको हो। मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडी चलाउँदा वायु प्रदूषण बढेर मानव स्वास्थ्यमा गम्भीर असर पुग्नुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने ट्राफिक प्रहरीले चेतावनी दिएको छ।

मानवीय र वातावरणीय जोखिम कम गर्न कार्यालयले सबै सवारीधनीलाई आफ्नो गाडीको प्रदूषण स्तर र प्राविधिक अवस्था चुस्त राख्न आग्रह गरेको छ।

प्रकाशित: १९ जेष्ठ २०८३ २०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App