१८ माघ २०८२ आइतबार
image/svg+xml
समाज

दाउन्नेमा तीन दिनदेखि जाम

वैकल्पिक सडक प्रयोग गर्न सवारी साधनलाई सडक विभागको आग्रह

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने दाउन्ने क्षेत्रमा तीन दिनदेखि सहज रूपमा गाडी चल्न सकेका छैनन्। सवारी सञ्चालन सहज नहुँदा यात्रा कष्टकर बनेको छ। सडक विभागका अनुसार बुधबार साँझसम्म दाउने क्षेत्रको यात्रा सहज हुन सकेको छैन।

भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव तथा एडिबी निर्देशनालयका प्रमुख चूडाराज ढकालले दाउन्नेमा बुधबार साँझसम्म यात्रा सहज नभएकाले बैकल्पिक सडकका रूपमा कालीगण्डकी कोरिडोर प्रयोग गर्न आग्रह गरे।

‘पाल्पा हुँदै कालीगण्डकी कोरिडोर प्रयोग गर्नु सबैभन्दा राम्रो विकल्प हो किनभने कालीगण्डकी कोरिडोर प्रयोग गर्दा बुटवलबाट–नारायणघाट यात्रा एक सय ७० किमि पर्छ। जब कि दाउन्ने हुँदै बुटवल–नारायणघाट-खण्ड एक सय १३ किमि छ’, ढकालले भने, ‘यो भनेको केही थोरै फरक मात्र हो। त्यसैले लामो समय जाममा बस्नुभन्दा कालिगण्डकी प्रयोग गर्नु राम्रो विकल्प हो।’

कालीगण्डकी कोरिडोर प्रयोग गरेमा चितवनको गैंडाकोटबाट कालीगण्ड नदीको किनारैकिनार हुँदै पाल्पाबाट बुटवल जान सकिन्छ।

शीतलहरले दाउन्ने सडक चिप्लो हुँदा सवारीसाधन सञ्चालन हुन नसकेको सडक विभागका कर्मचारीको भनाइ छ। दाउन्नेस्थित खुर्सानी खोला आसपासका सडकमा सवारीसाधन चिप्लिने र उकालोमा गुड्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि यो खण्ड अस्तव्यस्त बनेको हो। दाउन्नेमा बाक्लो हुस्सु र चिप्लो सडकका कारण सवारीसाधन सञ्चालनमा अत्यधिक कठिनाइ भइरहेको विभागका कर्मचारीहरूको भनाइ छ।

कर्मचारीहरूका अनुसार दुम्कीवास बजारदेखि नै सवारीसाधनको जाम छ। यतिबेला उक्त क्षेत्रमा सडक निर्माण भइरहेको छ। त्यसैले त्यस खण्डमा केही ठाउँमा यात्रा एकतर्फी हुने गरेको छ। त्यसैबाट झनै जाम बढ्ने गरेको छ। विभागका अनुसार हाल खुर्सानी खोला क्षेत्रमा ग्राभेल हाल्ने काम भइरहेको छ। त्यस क्षेत्रमा अवस्था सहज भएको छैन। त्यसैले मालवाहक सवारीसाधनलाई बर्दघाट र भुताहा क्षेत्रमा रोकेर राखिएको छ।

लामो समयदेखि जामका कारण सयौं यात्रु अलपत्र परेका छन्। नारायणघाट–बुटवल सडकको पूर्वीखण्डले चार किमि र बाँकी १० किमि पश्चिम खण्डले हेर्ने गरेको छ। बुटवल–नारायणघाट खण्ड जम्मा एक सय १३ किलोमिटर छ। यो खण्डलाई दुई भागमा वर्गीकरण गरी स्तरोन्नतिको काम थालिएको हो। पूर्वीखण्ड ६४.४२५ र पश्चिम खण्ड ४८.५३५ किलोमिटरको छ।

पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट खण्ड स्तरोन्नति गर्न चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग सम्झौता भएको सात वर्ष बितिसक्दा पनि आधा मात्रै काम भएको छ। यो आयोजना पूरा गर्न सरकारले गत साउनमा चौथोपटक म्याद थप गरेको छ।

अब एक वर्षभित्र पूर्णरूपमा स्तरोन्नति कार्य पूरा हुने गरी म्याद थप गरिएको सडक विभागका कर्मचारीको भनाइ छ। विभागका अनुसार पश्चिम खण्डको अन्तिम म्याद २०८३ साउन ५ गते र पूर्वी खण्डको अन्तिम म्याद साउन ७ सम्म दिइएको छ। १७ अर्ब दुई करोड रुपैयाँमा यो खण्डको स्तरोन्नतिका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग पहिलोपटक २०१८ डिसेम्बर १९ मा सम्झौता भएको थियो।

प्रकाशित: १७ पुस २०८२ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App