कर्णालीको राजधानी सुर्खेतमा आज (शुक्रबार)देखि सार्वजनिक यातायात आवागमन बन्द गरिएको छ।
संयुक्त यातायात व्यवस्थापन समितिको कार्यदलका अध्यक्ष उपेन्द्र शाहीको नेतृत्वमा बसेको बैठकले टिकट काउन्टरका कर्मचारीलाई अनावश्यक प्रहरीले पक्राउ गरेको भन्दै सम्पूर्ण सवारी साधन बन्द गर्ने निर्णय गर्दै आन्दोलनको औपचारिक घोषणा गरेको हो।
‘हाम्रा कर्मचारीलाई बिना शर्त रिहा नगरिएसम्म एउटा पनि भाडाका सवारी चल्दैन,’ समितिले भनेको छ। मुगुका श्री चन्द्र जैसी, कालिकोटका दिनेश जैसी र अमृत पाण्डे, हुम्लाका रामजङ्ग शाही तथा सुर्खेतका ठगेन्द्र रसायलीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। उनीहरूमाथि निजी सवारीमाथि दुर्व्यवहार गरेको आरोप छ।
सयौँ यात्रुहरू सवारी साधन नचल्दा बसपार्कमै अलपत्र परेका छन्। सरकारी तवरबाट यातायात खुलाउन कुनै पहल अहिलेसम्म भएको छैन।
त्यस्तै यातायात व्यवसायीले रातो नम्बर प्लेटका निजी गाडीहरू दैनिकजसो यात्रु बोक्दै प्रदेशभर सञ्चालन भइरहँदा नियमन नहुँदा सार्वजनिक यातायात व्यवसाय नै संकटमा परेको भन्दै प्रश्न पनि उठाएका छन्। ‘नियम विपरीत निजी गाडी चलिरहँदा हामी मात्र किन रोकिने?’ समितिको प्रश्न छ। आफ्ना कर्मचारीहरू प्रहरीले नछोडेसम्म यातायात ठप्प पारिने देउती नागरिक यातायात समितिका अध्यक्ष जुनी खड्काले बताए।
हिल्सा, देउती नागरिक, सुन्दर कर्णाली, कोटीला, सुर्खेत काँक्रेविहार, हाम्रो कर्णाली, भिजिट कर्णाली, मध्यपश्चिम, बुलबुले, सिद्धपाइला, मप जिप लगायत १३ वटा यातायात समितिहरूको संयुक्त बैठकले यो निर्णय गरेको हो।
यातायात सेवा बन्दको घोषणाले यात्रुहरू अन्योलमा परेका छन्। दैनिक आवतजावत, बिरामी बोकेर जाने एम्बुलेन्स बाहेकका सवारी ठप्प हुँदा कर्णाली प्रदेशभर जनजीवन प्रभावित भएको छ।
प्रकाशित: २० चैत्र २०८२ ०८:५१ शुक्रबार





