२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत

हाम्रो समाजमा प्रविधिको विकाससँगै परम्परागत पुर्ख्याैली सीप छाडेर वैकल्पिक रोजगारीको खोजीमा युवा भौतारिने गरेका छन्। उनीहरू प्रविधिको विकाससँगै आफूमा भएको सीपको उपयोग छाडेर रोजगारीका निम्ति विदेश जान आतुर हुन्छन् तर तनहुँका भुजेल समुदायले परम्परागत पुर्ख्याैली सीपलाई आज पनि जीविकोपार्जनको आधार बनाइरहेका छन्।

भुजेल समुदायका युवादेखि ज्येष्ठ नागरिकले पुर्ख्याैली सीपका रूपमा बाँसका हस्तकलालाई आयका रूपमा उपयोग गर्दै आएका छन्। यी समुदायका प्रत्येक व्यक्ति सीपयुक्त छन्। बाँसका हस्तकला निर्माण गरी बिक्री गर्दै आफ्नो आम्दानी गरी जीविका चलाउँदै आएको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटका सावित्री भुजेल बताउँछिन्।

“हाम्रो समुदायका बालबालिकादेखि नै पुर्ख्याैली सीप सिकेका हुन्छौँ। सिक्नुपर्छ भनेर बालबालिका तथा युवालाई प्रोत्साहन गर्दै पनि आएका छौँ”, उनी भन्छिन्, “पुस्ता हस्तान्तरण गर्न थालेका छौँ।”

हाम्रो समुदायका पुरुष वैदेशिक रोजगारी तथा अन्य पेसामा समावेश भए पनि महिला भने पुख्र्यौली सीपबाट आत्मनिर्भर बनेका उनको भनाइ छ।

“महिलाको कमाइले घरपरिवार चलाउन सहज भएको छ, पुरुषको कमाइ केही भए पनि बचत गर्न सकिएको छ। यसबाट सङ्कटका बेला सघाउ पुग्छ।” पहिलाको जस्तो माग नभए पनि हालसम्म आम्दानीको मुख्य स्रोत हाम्रो हस्तकला नै भएको सावित्री बताउँछिन्।

अन्य पेसामा आबद्ध भएका भुजेल समुदायका व्यक्ति पनि हस्तकला निर्माणको सीपमा भने पोख्त हुने गरेका छन्। उनीहरूले निर्माण गरेको नाङ्लो, थुम्से, डोको, कुच्चो, डालो, नाम्लोलगायतका बाँसका सामग्री बिक्री गरेर आम्दानी गर्दै आएका छन्। यसबाट घरपरिवारको आवश्यकता पूरा गर्न सहयोग पुगेको छ।

आँबुखैरेनी–१ एक्लेफाँटका इन्द्र भुजेल सानैमा सिकेको सीपले अहिलेसम्म आम्दानी गरिरहेको बताउँछन्। “हामीले बनाएका सामानको पहिला खासै मूल्य हुँदैनथ्यो। अहिले उचित मूल्य पाएका छौँ”, उनी भन्छन्, “आम्दानीबाट घर चलाउन सजिलो भएको छ।”

सामान बिक्री गर्न पहिला जस्तो दुःख गर्नु नपरेको इन्द्र बताउँछन्।  “पहिला सामान बोकेर बेच्न पुग्थ्यौँ, अहिले गाडी गाउँमै लिन आइपुग्छ। त्यसैले हस्तकलाका सामान उत्पादन गर्न उत्साहित छौँ।”

सरकारले सीपको संरक्षण तथा प्रवद्र्धनमा सहयोग पु¥याए देशकै आम्दानीमा टेवा पुग्ने उनको भनाइ छ। सकेसम्म मागअनुसारको सामान बनाउने कोसिस गरिहेको इन्द्रले बताए। अधिकांश कच्चा पदार्थ दमौलीबाट ल्याउने गरिएको उनी बताउँछन्।

उचित नीति, प्रवर्द्धन र बजार व्यवस्थापन भएमा यस पेसाले ग्रामीण अर्थतन्त्रलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। पछिल्ला वर्षमा बजारको पहुँच विस्तार, पर्यटनको वृद्धिसँगै बाँसबाट बनेका सामग्रीको माग बढ्दा यस पेसाले समुदायको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ। जिल्लाका आँबुखैरेनी, बन्दीपुर, देवघाटलगायत भुजेल समुदायका व्यक्तिले निर्माण गरेका सामग्री बिक्रीका लागि जिल्लाका विभिन्न ठाउँ तथा चितवन, काठमाडौँ, पोखरा, नेपालगन्ज, बुटवल, वीरगञ्जलगायत ठाउँमा लैजाने गरिएको छ।    

प्रकाशित: १७ वैशाख २०८३ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App